२९ जेष्ठ २०७८, शनिबार

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सशस्त्र प्रहरीलाई १२ बुँदे निर्देशन दिएका छन् । शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री अधिकारीले प्रहरीलाई १२ बुँदे निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्री अधिकारीले गरेको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल तथा हौसलामा वृद्धि भएको उल्लेख गर्दै गृहमन्त्रीको १२ बुँदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने बताएका छन् ।

राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारवाहीबारे पनि गृहमन्त्री अधिकारीले जानकारी लिएका छन् । गृहमन्त्री अधिकारीसमक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पु¥याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिशनहरुमा सशस्त्र प्रहरी बलको परिचालन, मानवअधिकारको संरक्षण र संबर्धन लगायत भएगरेका विविध विषयहरुमा प्रस्तुतीकरणमार्फत जानकारी गराइएको छ ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाएका छन् । सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको तथा सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा सुरक्षामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु¥याएको योगदानको कदर पनि उनले गरे ।

सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल रहेको पनि उनले बताएका छन् । उनका अनुसार भूकम्पजस्ता महामारीमा श्रोत साधनको अभावबीच संगठनले गरेको कार्यको हृदयको गहिराहीबाट सम्मान प्रकट गर्न चाहन्छु ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनश्रोत, जनशक्ति र बृत्तीविकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने उल्लेख गर्दै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोवलकासाथ क्रियाशिल रहन निर्देशन दिए ।

त्यसैगरी समाय अनुकूल राशन व्यवस्थापन, वृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने पनि गृहमन्त्री अधिकारीले बताए ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशिल सन्दर्भमा जिम्मेवारी र उत्तरदायित्व निर्वाह गरेको बताएका छन् । उनका अनुसार नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोला देखि सुदूर पश्चिमको छाङ्गरु तथा सुस्तादेखि कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र विओपीका माध्यमबाट तैनाथरहि ईमान्दार अनुशासित एवं व्यवसायिक रुपमा राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं जनताको सेवा, सुरक्षा र उद्वार कार्यमा अहोरात्र परिचालन हुँदै अन्य संवद्व नियकाहरुसँग सहकार्य र समन्वय गरी आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई पुरा गर्दै आइएको छ ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित सशस्त्र प्रहरी बलका एकाई प्रमुखहरु तथा सशस्त्र प्रहरी अधिकृत बिल्लादार जवानहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV