
रौतहट । रौतहटको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत प्रशारण अनियमित हुँदा सर्वसाधारण आक्रोशित
बनेका छन् । विगत केही दिनदेखि सो क्षेत्रमा दैनिक दर्जनौं पटक लाइन जाने गरेको स्थानीयको गुनासो छ । यसरी विद्युत आपूर्ति अनियमित हुँदा सबै क्षेत्र प्रभावित बनिरहेका छन् ।
छिनछिनमै लाइन जाने समस्याले गर्दा आफुहरुलाई निकै गाह्रो भएको स्थानीय सुजन तिमल्सिनाको गुनासो छ । ‘हाम्रोमा बत्ती कतिखेर आउँछ । कतिखेर जान्छ । ठेगानै छैन्’, उनले आक्रोशित हुँदै भने, ‘यो कसको र कहाँ कमजोरी हो । यथासक्य चाँडो सुर्धानुपर्यो । अन्यथा हामी आन्दोलित हुन वाध्य हुनेछौं ।’
अनियमित रुपमा विद्युत आउने जाने गर्नाले आफ्नो घरमा प्रयोग भइरहेका विद्युतिय उपकरणहरुमा पनि क्षति भइरहेको स्थानीयको भनाइ छ ।
सो क्षेत्रमा कुनै बेलामा त १५ मिनेटको फरकमा ४-५ पटकसम्म लाइन आउने जाने गरेको स्थानीयको अनुभव छ । कुनै बेला त सो क्षेत्रमा ३-४ घण्टासम्म पनि लगातार लाइन जाने गरेको स्थानीय बताउँछन् । उनीहरुले यसलाई अघोषित लोडसेडिङको संज्ञा दिन थालेका छन् । विद्युत आपूर्ति नियमित नहुँदा सबै क्षेत्रहरु प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् ।
यसरी विद्युत अनियमित हुँदा अनलाइन कक्षा पढ्नु पर्ने विद्यार्थीहरुको कक्षा पनि नियमित हुन पाइरहेको छैन् । राजधानी लगायत अन्य जिल्ला अनि स्थानीय स्तरमा रहेकाले स्कुल, कलेजहरु बन्द हुँदा अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छन् । तर विद्युत आपूर्ति अनियमित हुँदा उनीहरुले प्रभावकारी रुपमा कक्षा लिन सकेका छैनन् । कक्षा सुरु भएपछि नसकुन्जेल धेरै पटक लाइन आउने जाने गर्दा आफुहरुको पढाई नराम्ररी प्रभावित भइरहेको विद्यार्थी दिलिप पटेल गुनासो गर्छन् ।
‘जब हाम्रो अनलाइन कक्षा सुरु हुन्छ । तब लाइन पनि आउन जान सुरु हुन्छ’, उनी भन्छन्, ‘एउटा घण्टी चलिरहँदा लाइन जान्छ लाइन आउँदा अर्को घण्टी सुरु भइसकेको हुन्छ । विद्युत प्राधिकरणले गर्दा पढाईनै खिचडी भइसक्यो ।’
यता चन्द्रपुर वितरण शाखाका प्रमुख राजेश झाले चन्द्रनिगाहपुरमा रहेको नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखाको १३२ के भि सवस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको ३३ के भि समस्या आएर सो ट्रान्सफर्मर पुरै बन्द भएकाले विद्युत आपूर्तिमा समस्या आएको जानकारी दिनुभयो । सो बिग्रिएको ट्रान्सफर्मर ढल्केबरबाट मर्मत टोली आएर बनाउँदा केही समय लागेर ढिलो भएकोले विद्युत आपूर्तिमा समस्या आएको उनको भनाइ छ ।
सो ट्रान्सफर्मर मर्मत भएर चार्ज हुन समय लागेकाले हर्षाहा स्थित सव स्टेशनबाट चन्द्रपुर आसपासका क्षेत्रहरुमा विद्युत लाइन वितरण गरिएकोमा अहिले भने ट्रान्सफर्मर पुरै बनिसकेकाले अहिले भइरहेको समस्या हट्ने उनको दावी छ । ‘मर्मत गरिएको ट्रान्सफर्मर चार्ज गर्ने र छुट्याउने २-४ वटा स्विचहरु चलाउनु पर्ने भएकाले लाइन आउने जाने भएको हो’, उनले भने, ‘अब त्यो समस्या समाधान भइसकेकाले त्यस्तो समस्या आउँदैन।’