२८ जेष्ठ २०७८, शुक्रबार

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले आज ५ बजे दाबी पेश गर्ने भएको छ । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय निर्धारण गरेसँगै विपक्षी गठबन्धनले दाबी पेश गर्न लागेको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएसँगै प्रदेश प्रमुख पौडेले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार आधार पेश गर्न आह्वान गरेकी छन् ।

शनिबार दिउँसो ३ बजेसम्मका लागि नयाँ सरकार गठनका लागि समय दिइएको छ । संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री गुरुङ पदमुक्त भएपछि १६८ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

उता, विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री पदका लागि आजै दाबी पेश गर्ने तयारी गरिएको छ ।

आज ५ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने विपक्षी गठबन्धनको तयारी रहेको छ ।

बिहीबार प्रदेश सभाको सदनमा विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले २७ मत पाएका थिए । ६० सदस्यीय प्रदेश सभामा २७ मत मात्र पाएपछि उनी स्वत पदमुक्त भएका थिए ।

बहुमत नपाएपछि पदमुक्त भएका मुख्यमन्त्रीको ठाउँमा भोलि ३ बजेपछि नयाँ मुख्यमन्त्री नियुक्त गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV