२८ जेष्ठ २०७८, शुक्रबार

दाङ । सरकारले नै चुरे क्षेत्र उत्खनन गरेर भारतलाई गिट्टी, ढुंगा र बालुवा बेच्ने निर्णय गरेपछि यो निर्णय अहिले वहसको विषय बनेको छ । नदीजन्य पदार्थको जथाभावी उत्खननले मुलुकको समग्र वातावरणमा प्रतिकुल असर परिरहरदा यस्ले धेरै स्थानका गाउँवस्तीमा पारेको जोखिम आफैमा कहालीलाग्दो पनि छ । तर पनि यो मनपरीलाई धेरै ठाउँमा अझै निर्वाध स्वतन्त्रता जारी छ ।

धेरै स्थानीय तहको कमाउका लागि लोभलाग्दो आयश्रोत बन्नु र त्यही लोभमा लोभिएर बाँकी केही नसोच्ने प्रवृति हावी हुँदा भोलिका सन्ततिका लागि ‘मरुभूमि नेपाल’ भन्ने भयलाग्दो सम्भावना पनि बढ्दो छ । मापदण्ड विपरित हुने जथाभावी दोहनलाई स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको र राजनीतिक दल तथा तिनका नेताको आर्शीवादको कारण पनि यो विकृति मौलाएको छ ।

तर सरोकारवाला निकायहरु चुप बसेपछि धेरै स्थानमा अहिले स्थानीयवासी र गाउँलेहरु नै अघि सरेर यस्ता विकृतिविरुद्ध आवाज उठाउन थालेका छन् । दाङको गढवा गाउँपालिकामा पनि स्थानीयवासी आन्दोलनमा नै उत्रिएर नदी दोहन रोक्न दबाब दिएका छन् ।

डेढ दर्जन ट्रिपर र स्काभेटर रोकियो

राप्ती नदीमा मापदण्ड विपरित जथाभावी नदीजन्य बस्तु उत्खनन् गरिएको विरोधमा स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । गढवा गाउँपालिका–५ धर्मपुर र मगहर गाउँका स्थानीयले उत्खनन् भैरहेको स्थानमा पुगेर जथाभावी उत्खनन रोक्न दबाब दिदै विरोधमा उत्रिएका छन् ।

स्थानीयवासीको विरोधपछि १७–१८ वटा ट्रिपर र ६–७ स्काभेटर नदी क्षेत्रमा रोकिएका छन् । सम्झौता विपरित आफ्नो गाउँमा समेत उख्खनन गरेपछि मगहर गाउँका वासिन्दा विरोधमा उत्रिएका हुन् । यत धर्मपुर गाउँका वासिन्दाले भने सम्झौता विपरित उत्खनन गरेर गाउँवस्ती जोखिममा पारेको भन्दै आन्दोलित बनेका छन् ।

१ करोड ३० लाखमा गाउँपालिका नै लोभिएपछि …

गढवा गाउँपालिकाले ठेक्का लगाएको स्थानबाट ठेकेदारहरुले ठूला मेसिनरी औजार प्रयोग गरेर नदीजन्य बस्तुको जथाभावी उत्खनन् गर्दै आएका छन । सम्झौता बमोजिम १ महिनाका लागि उत्खनन वापत ठेकेदार कम्पनीले गाउँपालिकालाई १ करोड ३० लाख रुपैयाँ बुझाउने छ ।

जुन सम्झौता यही जेठ ३१ गतेसम्मका लागि लागू हुने छ । केही दिन अघि पनि विरोध भएपछि उत्खनन् कार्य रोकिएको थियो । पछि फेरि उत्खननको कार्य जर्बजस्ती सुरु गरिएको थियो । धर्मपुरको घाटमा गढवा गाउँपालिकाले नै ठेक्का लगाएको छ । पालिकाले ठेक्का लगाएको र आफूहरुले राजश्व बुझाएको हुनाले उत्खनन् गरेको ठेकेदार प्रतिनिधिको दाबी छ ।

जनताको तटबन्ध भत्काएर उत्खनन्

जनताको तटबन्ध कार्यक्रमले बनाएको तटबन्ध भत्काएर उत्खननको लागि बाटो बनाइएको छ । उत्खनन गर्दा नदीका बिच भागमा ठूला ठूला खाडल खनिएका छन् । विहान ४ बजेदेखि सुरु हुने उत्खनन कार्य राति अबेरसम्म जारी रहन्छ । ठेकेदार कम्पनीले गाउँपालिकाको आडमा नदीको तटबन्धका लागि बनाएको ड्याम पनि भत्काएको छ ।

जसले वर्खामा गाउँवस्तीमा बाढी पस्ने सम्भावना बढेको छ । राप्ती नदीको दोहन नरोकेसम्म नियन्त्रणमा लिइएको ट्रिपर र स्काभेटर नछाडने अडान स्थानीयवासीको छ । गाउँपालिका मात्र नभइ जिल्ला समन्वय समिति र प्रहरी प्रशासनको समेत मिलेमलोमा हात रहेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV