२७ जेष्ठ २०७८, बिहीबार
  • तारा आचार्य,

विराटनगर । १ नम्बर प्रदेशमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता प्रदान गर्दै प्रदेश सरकारले नीति तथा कार्यक्रम पेश गरेको छ ।

प्रदेश सभाको विहीबार बसेको बजेट अधिवेशनको बैठकमा प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को २२६ बुँधे नीति तथा कार्यक्रम प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गरेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखलाई नीति तथा कार्यक्रम प्रस्तुतिका लागि हस्तान्तरण गरेका थिए । गत वर्षका केही कार्यक्रमलाई निरन्तरता दिदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक बर्षमा प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार पारिने योजना ल्याइएको छ ।

प्रदेश सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथामा र नियन्त्रणपछि प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गरिने प्रदेश सरकारको योजनामा रहेको छ ।

प्रदेश सरकारले विपन्न तथा गरीब वर्ग र असहायहरुको स्वास्थ्योपचारका लागि उपचार कोष बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी उपलब्ध गराउन मुख्यमन्त्री युवा उद्यमशिलता कार्यक्रमलाई व्यवस्थित गरेर सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रदेश सभाको बैठक जेठ २८ गते साढे ११ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV