२७ जेष्ठ २०७८, बिहीबार
  • सुजन पुडासैनी,

हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज विहीबार प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले कोभिडमैत्री बजेट ल्याउने गरी एक सय ७६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सबै प्रदेशबासी लाई कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराउन प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना गरी सबैलाई अनिवार्य खोपको ब्यवस्था गरिने प्रदेश प्रमुख प्रसाईले बताए ।

यस्तै कोभिड–१९ माहामारीको रोकथाम तथा नियन्त्रण गर्न प्रदेश अन्तर्गतका सबै अस्पतालको सेवा बिस्तार गर्दे जनशक्तिको ब्यवस्था, भौतिक संरचना र उपकरणको ब्यवस्था गरी स्वास्थ प्रणालीमा सुधार गरिने प्रदेश प्रमुख प्रसाईले बताए । प्रदेशका सबै अस्पतालमा पीसीआर ल्याब स्थापना गरी निःशुल्क परीक्षणको ब्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशका सबै अस्पतालमा एचडीयू, आईसीयू र भेन्टिलेटरको स्थापना र अक्सिजन प्लान्ट जडानको काम गरिने प्रदेश प्रमुख प्रसाईले बताए । यस्तै बागमती प्रदेश सरकारले उद्यमको लागि युवाहरुलाई सहुलियतमा कर्जा प्रदान गर्ने भएको छ ।

यस्तै प्रदेश सरकारले संघीय सरकारको सहलगानीमा प्रदेशको गौरबको आयोजनाका रुपमा समावेश गरेको पोष्ट बहादुर बोगटी सुरुङमार्गको निर्माण कार्य सुरु गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

कोभिड–१९ बाट प्रभावित भई विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किएका युवालाई लक्षित गरी कृषिमा आकर्षित गर्न स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्नका लागि साझेदारीमा आधारित कृषि उत्पादनमूखी कार्यक्रम सञ्चालन गरि क्षमता विकास सम्बन्धी तालिम, प्राविधिक सीप र सहयोग उपलब्ध गराइने बताइएको छ ।

‘मेरो गाउँ उद्यमसहित जीउने ठाउँ’ भन्ने कार्यक्रम अन्र्तगत कर्जा प्रदान गरिने प्रदेश प्रमुख प्रसाईले बताएका हुन् । प्रदेश सरकार स्थापनाको तेस्रो वर्ष पूरा भई चौथौ वर्ष लागेको छ । प्रदेश स्थापना भएपश्चात सङ्घीय व्यवस्था संस्थागत गर्नका लागि प्रदेश सरकारले ५८ वटा संशोधनसहितको ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

संवैधानिक प्रावधानअनुरूप प्रदेशको एकल अधिकार र साझा अधिकार सूचीमा रहेका विषयहरूसँग सम्बन्धित बाँकी रहेका आवश्यक कानुनहरू क्रमशः निर्माण गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश प्रहरी ऐन बमोजिम प्रदेश प्रहरी गठन गरी प्रहरी सेवालाई सक्षम र सुदृढीकरण गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । कृषि उत्पादनलाई पर्यटनसँग जोड्दै कृषकहरुको आयआर्जन सुधारका लागि कृषि पर्यटन कार्यक्रम सञ्चालन गरीने प्रदेश प्रमुख प्रसाईले बताए ।

प्रदेश र स्थानीय तहको एउटै सन्देश बालबिवाहमुक्त हाम्रो प्रदेश भन्ने अभियानसहित सुरु भएको बालविवाह मुक्त प्रदेश कार्यक्रममलाई निरन्तरता दिइने बताइएको छ । प्रदेशभरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको छ । बागमती प्रदेशलाई खरको छानोमुक्त प्रदेश बनाइने कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV