२७ जेष्ठ २०७८, बिहीबार
  • हरिशंकर शर्मा,

जिराभवानी (पर्सा) । पर्साको जिराभवानी गाउँपालिकास्थित निर्माण भइरहेको सडक ढलान कार्य गुणस्तरहीन रहेको स्थानीयहरुले आरोप लगाएका छन् । गाउँपालिकाको जगतीया टोलदेखि महादेवपट्टीसम्म डेढ किलोमिटर (१५ सय मिटर) आरसीसीसहित सडक ढलानको ठेक्का पाएका सागर निर्माण सेवाले सम्झौता अनुसारको विकास निर्माण कार्य नगरेको स्थानीयहरुको आरोप छ ।

पहिलो माटो पुरी, ग्राभेल गरी छड हालेर सडक ढलान गर्नुपर्नेमा निर्माण कम्पनीले माटो मात्रै पुरेर ग्राभेलको सट्टा बालुवा मात्रै हालेर सडक ढलान गरिरहेको बताएका छन् । स्थानीयका अनुसार ग्राभेल गर्दा गिट्टी हालिएको छैन र ढलानको क्रममा पनि गिट्टीको मात्रा कम राखेर बढी मात्रामा बालुवा हालेर सडक ढलान भइरहेकोले यस सडकको भविष्य नरहेको भन्दै स्थानीयहरुले विरोध गर्दासमेत ठेकेदारले आफ्नो मनमर्जी तरिकाले सडक निर्माण गरिरहेको बताए ।

५०/५० प्रतिशत संघ र स्थानीय सरकारको बजेटमा निर्माणाधीन सडकमा स्थानीय जनप्रतिनिधि एवं गाउँपालिकाका कर्मचारीहरुको पनि मिलोमतो रहेको कारण निर्माणाधीन सडकको गाउँपालिकाका प्राविधिकहरुले एक पटक अनुगमन समेत नगरेको उनीहरुको भनाइ छ ।

विकास निर्माणको कुनै पनि ठेक्का पट्टा लगाउँदा स्थानीय जनप्रतिनिधिलगायत गाउँपालिकाका कर्मचारीलाई कमिशन दिने परिपाटीको कारण पनि विकास निर्माण कार्यहरु गुणस्तरीय हुन सकेको छैन ।

सडक ढलानका लागि तयारी भइसकेको सडकमा खाली बालुवा नै बालुवा देखिन्छ । बालुवामाथि छड हालेर धमाधाम ढलान भइरहेको कारण भर्खरै ढलान गरिएको सडकबाट बालुवाहरु फुटेर छडसमेत देख्न थालिएको छ ।

डेढ किलोमिटर सडक मध्य निर्माण भइसकेको सडकको विभिन्न ठाउँमा फुट्नुका साथै धुलाम्मे भई जीर्ण हुन थालेका छन् । माटोको लेबल कम हुँदाहुँदै पनि ठेकेदार कम्पनीले गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा गुणस्तरहीन काम गरिरहेको स्थानीयहरुको आरोप छ ।

निर्माणको क्रममा स्थानीयहरुले विरोध गरिरहेका छन् तर, उनीहरुको गुनासो कसैले नसुनी धमाधाम सडक निर्माणको काम भइरहेको उनीहरुको आरोप छ । अर्कोतर्फ सडक निर्माण गर्दा सडकको दुवै छेउमा नाला निर्माण गर्नुपर्नेमा त्यो पनि गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV