२६ जेष्ठ २०७८, बुधबार

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ३० लाख रुपैयाँ नगद सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने २२ वर्षीय बन्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहका अनुसार बुधबार बिहान जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापमा बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको उनीहरुलाई रोकेर चकेजाँच गर्दा स्रोत नखुलेको ३० लाख ७६ हजार नगद नेपाली रुपैयाँ बरामद हो ।

सो स्थानको नेपाल भारत सिमानाकामा चेकचाँजको क्रममा उनीहरुले बोकेको नाईलुनको झोलाबाट सो रकम बरामद गरिएको प्रहरी उपरिक्षक शाहले बताउनुभयो । शाहले उनीहरुले हुन्डी कारोवारको लागि सो रकम ओसारपसार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यस आर्थिक वर्षमा रौतहट प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ९ पटकमा १ करोड १७ लाख ८६ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरिसकेको छ । प्रहरीको सो क्रममा १२ जना पक्राउ परेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV