२६ जेष्ठ २०७८, बुधबार

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अग्रता जोगाउन नसक्दा कोलम्बियासँग अर्जेन्टिना २-२ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १० मिनेटभित्रै दुई गोल गरेको अर्जेन्टिनाले अन्तिम समय सम्हालिन नसक्दा बराबरी खेल्दै अंक बाड्न बाध्य भयो ।

खेलको तेस्रो मिनेटमै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गरेका थिए ।

आठौं मिनेटमा निकोलस गोन्जालेजको पासमा लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल थप्न सकेन । कोलम्बियाले भने दोस्रो हाफमा दुई गोल गर्यो ।

५१औं मिनेटमा लुइस मुरिएलले पेनाल्टीमार्फत गोल गर्दै एक गोल फर्काए । निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा एल्वो प्रहार गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा गोल गर्दै कोलम्वियालाई हारबाट जोगाए ।

बराबरीपछि दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक पुगेको छ । कोलम्विया ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV