२६ जेष्ठ २०७८, बुधबार

राष्ट्रिय गौरवको आयोजनामा पनि कुन हदसम्मको लापरवाही हुन्छ भन्ने उदाहरण हुलाकी सडकमा पनि देखिएको छ । तराईका जिल्लाहरुको ‘लाइफलाइन’ मानिएको हुलाकी सडक लामो समयसम्म उपेक्षाको शिकार नै बन्यो । तर बर्षौपछि बल्ल आएर सडक बन्यो ।

दुर्भाग्य ती सडकहरुमा राम्रोसंग प्रयोग गर्न नपाउँदै भासिन थालेका छन् । सडक निर्माण सकेर हस्तान्तर गरिएको ३ महिनापछि सडक नै काम नलाग्ने अवस्थामा पुगेपछि ठेकेदार कम्पनीहरुको काम गर्ने शैलीमाथि फेरि प्रश्न चिन्ह मात्र लागेको छैन ।

उनीहरुमाथि विश्वास सडक जस्तै भासिन थालेको छ । वीरगञ्जदेखि पश्चिमी क्षेत्र ठोरीको चौतारासम्मको ६० किलोमिटर सडकले जुन दुर्दशा भएको त्यस्ले सडक निर्माणको निगरानी गर्ने नियामक निकायहरुको नियतमाथि पनि प्रश्न उठेको छ ।

भारतीय भिस्वा कम्पनी भागेपछि जिम्मा नेपाली ठेकेदारलाई

नेपाल सरकारको राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको अढाई महिना नवित्दै सडक भत्किन थालेको छ । हतार हतार सडक निर्माणको काम टग्याउने क्रममा निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको कारण सडक बिच भागमा फाँटेर र कतिपय स्थानमा सडकको दुबै छेउमा ग्राभेल गरिएका सडकहरु समेत भासिन थालेका छन् ।

वीरगञ्जदेखि पश्चिमी क्षेत्र ठोरीको चौतारासम्म ६० किलोमिटर पर्ने यस हुलाकी सडक २०६६ सालमा निर्माण कार्य थालनी गरिएकोमा निर्माण कम्पनीको लापरवाहीको कारण ७ वर्षसम्म अलपत्र परेको थियो ।

हुलाकी राजमार्गको ठेक्का भारतीय ठेकेदार कम्पनी भिस्वा (बि.भि.एस.आर.) ज्वाइन भेन्चरले निर्माण गरि रहेकोमा प्रथम चरणको मात्र काम सम्पन्न गरेर आयोजनामा ठूलो घाटा लाग्ने थाहा लागेपछि ठेकेदार कम्पनीले निर्माण सामग्रीसहित केही मेशिनहरु समेत छाडेर भागेपछि निर्माण कार्य अलपत्र परेको थियो ।

सडक निर्माण गरेको अढाई महिनमा नै भासियो

अलपत्र परेको ७ वर्षपछि नेपाल सरकारले २०७४ कात्तिक १ गतेदेखि निर्माण कार्य शुरु गर्ने गरि ३०/३० किलोमिटर निर्माणको लागि दुईवटा नेपाली निर्माण कम्पनीलाई ठेक्का लगाएको थियो । एकै दिन ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरि २०७४ कात्तिक १ गतेदेखि निर्माण कार्य थालनी गरिएको थियो ।

पावरहाउस चोकदेखि चमरीहोलसम्म ३० किलोमिटर निर्माणको जिम्मा पाएको अमर कन्टेक्ट पप्पु जेभिले हालसम्म सडक निर्माणको काम सम्पन्न गर्न सकेको छैन भने चमरीहोलदेखि ठोरीको चौतारासम्म ३० किलोमिटरको जिम्मा पाएको कालिका÷बाँनिया ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले यही २०७८ चैत १८ गते निर्माण सम्पन्न गरेर नेपाली जनतालाई हस्तान्तरण गरेपछि त्यसको अढाई महिना नवित्दै सडक भत्किन थालेको हो ।

सडक निर्माणको ताल देखेर स्थानीय तह आक्रोशित

राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण भएदेखि नै ठूलठूला सवारी साधनहरु गुड्न पाएका छैनन्, तर कमशल सामाग्री प्रयोग गरि हतार हतारमा सडक निर्माण गरेको कारण सडकहरु विभिन्न ठाउँमा भत्किन थालेको ठोरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष किशोर तामाङ्गले बताए ।

यता ठोरी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले पनि निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको आरोप लगाए । सडक हस्तान्तरणको अढाई तीन महिना पनि नवित्दै सडक फुट्ने, भत्कने, सडक छेउमा गाडिएको पिलरहरु भत्किने जस्ता विभिन्न समस्याहरु देखा पर्न थालेकोले गुणस्तरीय सडक निर्माण नभएको सोझै देख्न सकिने बताए ।

भत्केको सडकमा धमाधम धुलो हालिंदै

सडक विभिन्न ठाउँमा भत्किन थालेपछि निर्माण कम्पनीका कामदराहरु धमाधम माटोले पुर्दै जनताको आँखामा धुलो छर्किने काम गरिरहेका छन् । अर्कोतर्फ निर्माण कम्पनीले ठोरीको चौतारासम्म निर्माणको जिम्मा पाएकोमा ४/५ किलोमिटर सडक अधुरै छाडेर हस्तान्तरण गरेको छ । ठोरी गापाको वडा नं. २ स्थित फायरलाइन सडकदेखि चौतारासम्मको सडक अहिलेपनि ग्राभेल अवस्थामा नै छ ।

चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्यमा अवरोध गरेको कारण देखाउँदै निर्माण कम्पनीले काम अधुरै छाडेर हुलाकी सडक आयोजना मार्फत सडक हस्तान्तरण गरिसकेको छ । १ अर्व १७ करोडमा निर्माणको जिम्मा पाएकोमा निर्माण कम्पनीले पूरा काम गर्न नसकेको कारण देखाउँदै आयोजना कार्यालयले साढे ९५ करोड रकम मात्रै पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV