
धनगढी । पार्टीको ह्विपविपरीत काम गरेको भन्दै नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले आफ्ना ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई पार्टीको ह्विपअनुसार विश्वासको मत नदिएपछि संसदीय दलका नेता प्रकाशबहादुर शाहले एमाले ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको छ ।
भोलि बुधबार ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नआएको अवस्थामा दलको विधान अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर, माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले माओवादीलाई समर्थन दिएको थियो ।