२५ जेष्ठ २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईले गत बर्षको बजेटको विषयमा आफूमाथि दोषारोपण गरेको आरोप लगाएका छन् ।

प्रदेश १ को बजेट अधिवेशनको दोश्रो दिन विषेश समय लिएर पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोले आफू जिम्मेवारीबाट भाग्ने पक्षमा नभएको र सरकारको नेतृत्वकले अरुलाई दोष दिनु हाँस्यस्पद रहेको बताए ।

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले बजेटबारे झुक्याइएको अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री राईको अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै नेता आङ्बोले सरकारको प्रमुखलाई थाहा नभई बजेट नआउने जिकिर गरे ।

नेता आङ्बोले आर्थिक मामिला मन्त्रालयले तयार गर्नुपर्ने सार्वजनिक खरिद नियमावली मुख्यमन्त्रीको कार्यालय आफैले तयार गरेको र बजेट निर्माणको सबै दोष थोपर्न खोज्नु प्रदेश सरकारको गलत धारणा भएको बताए ।

नेता आङ्बोले कोरोना माहामरीको समयमा मानवताविरोधी अपराध बालुवाटारबाट भएको र प्रतिनिधि सभा विघटन, नेकपाको एकता भंग, असंबैधानिक अध्यादेश र नियुक्ति, भ्रष्टचारीको संरक्षण गर्ने प्रधान मंत्रीको कदमको बचाउ गर्नु गलत रहेका धारणा राखे ।

उनले प्रदेशको नामाङ्कन हुन नसक्नुमा प्रधानमन्त्री केपी ओलीको हस्तक्षेप भएको बताए । नेता आङ्बोले बजेट निर्माणको समयमा २९ अर्बको बजेटको सिलिङ प्रस्ताव गरेको बताउदै मुख्यमन्त्रीको नेतृत्वको मन्त्रालय साथै आन्तरिक मामिला मन्त्रालयलेनै दोब्बर भन्दा बढी बजेट पठाएकोले बजेटको आकारमा बृद्धि भएको बताए ।

साडे सात अर्बको सिलिङ पाएको मुख्यमन्त्री नेतृत्वको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ अर्बको बजेट बनाएको कारणले बजेटको आकारमा बृद्धि भएको नेता आङबोले जानकारी गराए । नेकपा विभाजन भएपछि पूर्व आर्थिक तथा योजना मन्त्री आङ्बो प्रदेश सरकारबाट बाहिरिएका हुन् ।

माओबादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । प्रदेशसभाको आठौ तथा बजेट अधिबेशनको दोश्रो दिन आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ लिम्बूले आ.ब.०७८/७९ को विनियोजन विधेयकमा समाबेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्येश्य, प्राथमिकता र प्रमुख नीतिहरु सहितको प्रस्ताब पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV