२५ जेष्ठ २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । पछिल्लो दुई सातायता पर्सा जिल्लामा निरन्तर कोरोना संक्रमितको ग्राफ घट्दै गएको छ । कोरोना संक्रमणको केन्द्रविन्दू बनेको पर्सामा वैशाखको १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएको करिब एक महिनापछि कोरोना संक्रमितहरुको संख्यामा कमी हुँदै गएको हो ।

नारायणी अस्पतालले गरेको पीसीआर परीक्षणको तथ्याङ्क अनुसार सोमबार पर्सामा २ जना मात्रै कोरोना संक्रमित थपिएका छन्, जुन हालसम्मको सबैभन्दा कम संख्या हो । पर्सामा दिनहुँ १ सयदेखि २ सयसम्म संक्रमितहरु थपिदै आएको अवस्थामा पछिल्लो दुई सातायता ५० को ग्राफ घट्दै घट्दै सोमबार २ जनासम्म झरेको हो ।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा सोमबार ५ जनामा संक्रमण पुष्टि भएको छ, जसमा पर्साका २ जना मात्रै रहेका छन् भने बाराका २ जना, रौतहटका १ जना रहेका छन् । संक्रमित हुनेहरुमध्ये ४ जना पुरुष रहेका छन् भने १ जना महिला रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुको उमेर समूह ११ देखि ५० वर्षसम्म रहेको छ भने उनीहरुको सिटी भ्यालु २७.३ देखि ३२.८ सम्म रहेको नारायणी अस्प्तालले जानकारी दिएको छ । यसैगरि जेठ २३ गते नारायणी अस्पतालमा ९६ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

जसमा पर्साका ९ जना, बाराका ५ जना, रौतहटका २ जना तथा सर्लाहीका १ जना रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमध्ये १४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनीहरुको उमेर समूह १७ देखि ६१ वर्षसम्म रहेको छ भने सिटी भ्यालु १६.७ देखि ३५.५ रहेको छ ।

त्यसैगरि जेठ २२ गते ९६ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ, जसमा पर्साका ३ जना, बाराका ३ जना, रौतहटका १ जना तथा सर्लाहीका १ जना रहेका छन् । संक्रमण पुष्टि हुनेहरुमध्ये ७ जना पुरुष एवं ३ जना महिला रहेका छन् भने उनीहरुको सिटी भ्यालु २३.३ देखि ३५ सम्म रहेको नारायणी अस्पतालले जनाएको छ ।

यसरी तथ्याङ्लाई हेर्ने हो भने दिन प्रतिदिन पर्सामा कोरोना संक्रमितहरुको ग्राफ घट्दै गएको देखिन्छ भने सिटी भ्यालुमा पनि सुधार आएको देखिन्छ । निषेधाज्ञाको कारण एक अर्कासँग भेटघाट बन्द भएपछि संक्रमणको चेन ब्रेक भएको आँकलन गरिएको छ । पर्सामा संक्रमितहरुको संख्यामा कमी आएपनि ढुक्क भइहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV