२५ जेष्ठ २०७८, मंगलवार

भक्तपुर । नेपाल मजदुर किसानलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त बिभिन्न स्वास्थ्य सामग्री भक्तपुरको ख्वप अस्पताललाई हस्तान्तरण गरेको छ ।

नेमकिपाका सचिव प्रेम सुवाल र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिमार्फत नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई सोमबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सय वर्ष पुगेको अवसरमा चीनले नेपालका राजनीतिक पार्टीहरुबीच कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनलाइन छलफल भएको अवगत गराउँदै सांसद सुवालले चीनबाट प्राप्त स्वास्थ्य सामाग्रीहरु नेपालका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा पुर्याउने व्यवस्थामा जुटेको स्पष्ट पार्नुभयो । उहाँले चीनबाट प्राप्त सामाग्रीहरु भक्तपुरका र काभ्रेका केही अस्पतालहरुमा हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । उहाँले चीनलाई सहयोगको लागि नेपाल र नेपाली जनताको तर्फबाट आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको बताउनुभयो । उहाँले चीनको सहयोग र सद्भावका कारण महामारीविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो र हौसला प्राप्त हुने बताउनुहुँदै संक्रमण नियन्त्रणको लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल सञ्चालनमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभइरहेको समयमा छिमेकी पार्टीको तर्फबाट प्राप्त सहयोगको निकै महत्व रहेको र सहयोगका लागि नगरपालिका र नगरबासीहरुको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको लागि सरकारसँग आवश्यक सहयोगको माग गरेको तर सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभएको समयमा भक्तपुर नपाले जनस्तरबाट आर्थिक तथा भौतिक सहयोगको लागि गरेको आह्वान स्वीकार्दै प्राप्त सहयोगबाट भनपा प्रकोप व्यवस्थापन कोषमा ५ करोडभन्दा बढी सहयोग जम्मा भएको अवगत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV