
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासकाे मत लिने भएपछि नेकपा एमालेले विश्वासकाे मत दिने निर्णय गरेकाे छ । एमालेकाे प्रदेश संसदीय दलकाे बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई नै विश्वासको मत दिने निर्णय गरेको हाे ।
मुख्यमन्त्रीलाइ हटाउन एमालेकै एउटा खेमा लागिपरेकाे बेला मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले भने मुख्यमन्त्रीकै पक्षमा उभिने निर्णय गरेको हाे । प्रदेश संसदीय दलमा एमालेकाे माधव-झलनाल समूहकाे बहुमत रहेकाे छ । उक्त पक्षले मुख्यमन्त्री भट्टलाई नै समर्थन गर्ने भएकाे हाे ।
तर एमालेकै अध्यक्ष केपी ओली पक्षका सांसदहरू मुख्यमन्त्रीकाे विरुद्धमा देखिएका थिए । उनीहरूले विश्वासकाे मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताए पनि प्रदेश संसदीय दलले भने विश्वासकाे मत दिने निर्णय नै पारित गरेकाे बताइएकाे छ । हाल प्रदेश संसदीय दलमा रहेका २४ सांसदमध्ये ७ जना मात्र ओली पक्षमा खुलेका छन् ।