२४ जेष्ठ २०७८, सोमबार

झापा । झापाको मेचीनगर नगरपालिकाले कोरोना संक्रमणको ज‍खिम बढ्दै गएपछि आगामी जेठ मसान्तसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

उनका अनुसार बैठकले मेचीनगर नगरकार्यपालिकाको कार्यालयसहित १५ वटै वडामा अत्यवश्यक सेवा बाहेकका सवै कार्य बन्द गर्ने निर्णय गरेको हो । यति कसैलाई अत्यावश्यक सेवा तथा कार्य लिनुपर्ने भए सम्बन्धित वडाको वडाध्यक्षसँग सम्पर्क गर्नुपर्ने छ ।

कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएका कारण नगरपालिका आउने सेवाग्राही ९नागरिक०को स्वास्थ्यलाई ध्यानमा राखेर भीडभाड कम होस् भनेर जेठमसान्तसम्म फोहोर मैला संकलन, स्वास्थ्य सेवा, बारुण यन्त्रबाहेकका अन्य सेवा बन्द गरिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

साथै बैठकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको निर्णय कार्यान्वयमा सहयोग पुर्याउन नगरवासी, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी र गैरकारी संस्था, स्थानीय प्रहरी प्रशासनलगायत सवैमा नगरपालिकाले आग्रह गरेको छ ।

अहिलेसम्म मेचीनगरमा एक जना वडाध्यक्ष, एक कर्मचारी सहित १९ जना नगरबासी कोभिड संक्रमणका कारण मृत्यु भईसकेको छ ।

हाल एक जना कर्मचारी अस्पतालको बेडमा उपचार गराई रहेका छन् भने फ्रन्ट लाइनमा बसेर काम गर्ने नगर प्रहरीहरु र कर्मचारीहरु कोभिड संक्रमित भएर होम आइशोलेशनमा बसेर उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV