२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले अत्यावश्यक सामग्रीको ‘होम डेलिभरी’ गर्ने कम्पनीहरूलाई सेवा दिनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अनलाइन माध्ययमबाट खरिद गरिने खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने कम्पनीहरूलाई यस्तो आदेश जारी गरेको हो ।

कोरोना महामारीको असर कम गर्न तथा संक्रमणबाट जोगिनका लागि डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै सो इजलासले अत्यावश्यक पहुँच पु¥याउनु पर्ने बताउँदै आदेशमा भनिएको छ, ‘यस्तो असामान्य अवस्थामा जोखिमता रहेको व्यक्ति वा संक्रमित रहेको परिवारको अत्यावश्यक पहुँचको सुनिश्चितताको लागि राज्य र निजी क्षेत्र समेत क्रियाशील हुन आवश्यक छ ।’

त्यस्तै, अन्तरिम आदेशमा कोरोना महामारीको समयमा बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जान नपर्ने वातावरण सिर्जना गर्न ई कमर्सको माध्यमबाट तत्कालीन २०७७मा जारी गरिएको मापदण्ड तथा उक्त मापदण्डको अनुसुची १ मा तोकिएको अत्यावश्यक वस्तुहरूमा सम्पूर्ण स्वस्थ्य सुरक्षाको उपायहरू अवलम्बन गरी अनलाइन माध्यमबाट खरिद बिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरूलाई उक्त मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रवाह गर्ने काम रोक्ने कार्य नगर्न÷नगराउन भनिएको छ ।

सरकारले जारी गरेको होम डेलिभरी सम्बन्धी मापदण्ड २०७७ अपनाएर सेवा प्रवाह गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । उक्त मापदण्डमा होम डेलिभरी गर्ने कम्पनी दर्ता भएको हुनुपर्ने, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची राख्नुपर्ने, नेपाल सरकारले तोकेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड र प्रोटोकल पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV