२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन जना अध्यक्षले चलाइरहेका छन् । अध्यक्षत्रयमा कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनगरेपछि अध्यक्षद्वय डा. लोहनी र राणा त्यसविरुद्ध उभिएका छन् भने अध्यक्ष थापा भने ताजा जनादेशमा जानुपर्ने भन्दै ओली नेतृत्वको सरकारमा सहभागी हुन चाहेका छन् ।

यसै सवालमा पार्टीभित्र अन्तरकलह मच्चिरहेको अवस्थामा सोमबार अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफू दुई दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिमा हिँड्न नसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थलापर्न बेर छैन ।’

दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन नसक्ने बताउँदै उनले त्यो नैसर्गिक सत्य भएको पनि बताएका छन् । उनका अनुसार यो सत्य नबुझेको होईन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो।

तर, सामान्य गतिमा नहिँडेर पार्टी गतिहिन नै होला भन्ने आफूले नसोचेको बताएका छन् ।

साथै, राप्रपा सत्ताकेन्द्रित फोहरी खेलमा नरहेको पनि उनले बताएका छन् । उनले विगतका त्रुटि र कमजोरी सच्याएर नीति र विचरकेन्द्रित राजनीति वर्तमान समयमा राप्रपाको मुख्य प्रथमिकता र ध्येय रहेको बताएका छन् ।

राप्रपालाई वैकल्पिक शक्ति बनाउन हाल कायम निस्क्रियताको महारोगबाट मुक्त हुनु अब अनिवार्य रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV