२४ जेष्ठ २०७८, सोमबार

एजेन्सी । नाइजिरियाको उग्रवादी समूह बोको हरामका सर्वोच्च नेता अबुबकार सेकाउको मृत्यु भएको एक अपुष्ट दाबी सार्वननिक भएको छ ।

केही समाचार एजेन्सीहरुले नेता सेकाउले ‘आफ्नो ज्यान आफैँ लिएको’ दाबीसहितको एउटा विपक्षी लडाकू समूहले अडिओ रेकर्डिङमा बताएको बताएका छन् । समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडिओमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आत्मघाती विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ ।

बिबिसीका अनुसार मिति उल्लेख नगरिएको उक्त अडिओमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल–बरनावीले बोकोहरामका नेता सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन् । एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा भनिएको छ, ‘भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन् ।’

तर यस दाबीको कतैबाट पनि पुष्टि हुन भने सकेको छैन । हुनत सेकाउ अघिल्लो महिना पनि मारिएका ेविवरण आएको थियो भने त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो । तर अहिलेसम्म उनी जीवितै छन् या मारिए भन्ने यकीन पुष्टि भइसकेको छैन । बोको हराम स्वयं वा नाइजिरियाली सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन् ।

अघिल्लो महिना भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजिरीयाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने बताएको थियो । सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई प्रहरीले मारिदिएपछि उनले उक्त समूहको नेतृत्व आफ्नो हातमा लिएका थिए ।

उनले बोको हरामको नेतृत्व सम्हालेयता मात्रै उत्तर पूर्वी नाइजिरियाको द्वन्द्वमा ४० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । साथै २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV