२४ जेष्ठ २०७८, सोमबार

झापा । जारी निषेधाज्ञाको अवज्ञा गर्दै झापाको एक खानेपानी संस्थाले कार्यसमितिको निर्वाचन गर्ने सूचना प्रकाशित गरेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम नरोकिए पछि, त्यसको रोकथाम तथा न्यूनीकरणका लागि कडाइ गर्दै जिल्लामा जिल्ला प्रशासन कार्यालय झापाले जेठ ३१ गतेसम्म पूर्ण निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले जिल्लामा निषेधाज्ञाको अवधिमा मानिसको भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । तर झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भने त्यसको बेवास्ता गर्दै यही जेठ २९ गते मतदान गर्ने गरी सूचना प्रकाशीत गरेको छ ।

अहिलेको बिषम् परिस्थितिमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको बेवास्ता गर्दै चारआली खानेपानी उपभोक्ता समितिले निर्वाचन मिति तय गरेको हो ।

खानेपानी संस्थाको निर्वाचन समितिले आईतवार कार्यसमिति र लेखा समितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरेको हो ।

कार्यसमितिको कार्यकाल पुरा गरिसकेको र सर्बसम्मत उम्मेद्वार दर्ता हुने गरी राजनैतिक सहमति भएकाले निर्वाचन कार्यक्रम प्रकाशन गरेको चारआली खानेपानी संस्थाका अध्यक्ष लाल थेबेले बताए ।

कार्यसमितिको कार्यकाल यसअघि नै सकिएको र थप गरिएको ६ महिनाको समयावधि पनि असार १५ गते सकिने भएकाले बाध्यतामा निर्वाचन कार्यक्रम प्रकाशन गर्नु परेको अध्यक्ष थेबेले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV