२२ जेष्ठ २०७८, शनिबार

काठमाडौँ । सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ।

गढीमाई नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा स्थानीयको गुनासो क्रसर सञ्चालकले नसुनेपछि उनीहरूविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको र स्थानीय पत्रकारहरूको समूह नै क्रसर सञ्चालन स्थलमा पुगेपछि स्थानीय प्रशासनले आठवटा एक्जाभेटर र सात चालकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले वाग्मती नदीमा अवैध उत्खनन भइरहेको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आठवटा एक्जाभेटरका साथै सात चालकलाई नियन्त्रणमा लिएको बताए। अवैध गिटी उत्खनन तथा भण्डारणको विषयमा थप अनुसन्धान गरिने एसपी शाहको भनाइ छ।  यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV