२१ जेष्ठ २०७८, शुक्रबार

धादिङ । हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बनीघाट रोराङ गाँउपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।

कम्पनिका प्रतिनिधिले सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ ।

हुवासिन कम्पनीले गत वर्ष धादिङ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न गाउँपालिकामा रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । उद्योगले ताल्ती स्वास्थ चाैकीकाे क्वारेन्टाइन निर्माणमा २ लाख र बेनिघाट गा.पा.लाई ५ लाख नगद पनि सहयाेग गरेकाे थियाे । विगत तीन वर्षदेखि निर्माण कार्य शुरू गरे पनि बाढी र महामारीको कारण उद्योगले ठूलाे आर्थिक मार खेप्दै अाएकाे छ । उद्योगको निर्माण कार्य अन्तिम चरणमा रहे पनि लकडाउन तथा महामारीको प्रकाेपका कारण प्रभावित बनेकाे छ ।

उद्योगले एक विज्ञप्ति मार्फत यस कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

उद्योगका उप- महाप्रबन्धक डिल्लीराज पाेख्रेलले मानवजातिमाथिकाे यस चुनाैतीकाे सामना आपसी सहयोग तथा स्वास्थ्य मापदण्डकाे पूर्ण पालनाले मात्रै सम्भव हुन सक्ने भन्दै सरकारलाई थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रयासरत रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV