२१ जेष्ठ २०७८, शुक्रबार

जातीय विभेद तथा छुवाछुतमुक्त नेपाल घोषणा भएको एक दशक नाघिसक्यो, २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुतमुक्त घोषणा गरेको थियो । त्यसपछि प्रत्येक जेठ २१ गते छुवाछुत उन्मुलन दिवस मनाइँदै आएको छ । तर पनि जातका आधारमा विविध छुवाछुत भने अझै भइरहेको पाइन्छ । आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव छुवाछुत र दलितमाथि हिंसा रोकिएको छैन ।

प्रदेश नंबर १ अन्तर्गतको पाँचथर जिल्ला कुम्मायक गाउँपालिकामा जन्मिएकी, म हुर्किएको समाजमा ब्राह्मण, क्षेत्री, दलित, जनजाति सबै प्रकारका मानिसको बसोबास रहेको छ । म ब्राह्मण परिवारमा हुर्किएकी भए पनि मेरा साथीहरू जनजाति र दलित नै थिए । मलाई कहिल्यै मेरो परिवारले रोक लगाएन– दलित वा जनजाति सँगसँगै हिँड्न, बस्न वा खान । तर म विद्यालयमा सुन्थेँ– जनजाति र दलित जातले छोएको खानु हुँदैन भन्ने ।

जिज्ञासु स्वभावकी म, मनमा अनेक तर्क उठ्थे दलितले छोएको खाँदा के हुन्छ ? किन खान हुँदैन ? मेरो कौतुहलता मेटाउनकै लागि भए पनि कैयौँपल्ट मेरा दलित साथीहरूसँग मागेर खानेकुरा खान्थेँ । मलाई केही नभएपछि छक्क पर्थेँ । मेरो कौतुहलता नमेटिएपछि एकदिन सायद ६ कक्षामा पढ्दा हुनुपर्छ, विद्यालयबाट घर गएर आमालाई सोधेकी थिएँ, “मेरो साथी सिर्जना विकले छोएको मैले खानु हुँदैन अरे हो ?” आमाको उत्तर केही पनि थिएन, केवल मौन हुनुहुन्थ्यो । मैले झन् जिद्दी गर्दै प्रश्नमाथि प्रश्न राखेपछि मलाई मेरी आमाले दिएको उत्तरबाट प्रस्ट थिएँ म । उत्तर यस्तो थियो, “फोहोर खानु हुँदैन, फोहोर खानेकुरा उसले मात्र हैन, कसैले दिएको पनि नखानु । यदि सफा, शुद्ध खानेकुरा हो भने जसले दिएको खाँदा पनि हुन्छ ।”

म त्यही दिन देखी प्रस्ट थिएँ, तर समाज भने आज पनि जहाँको त्यहीँ छ ।

शिक्षालयमै सिकाइन्छ विभेद

त्यसो त पश्चिमी भेगभन्दा पूर्वी भेगमा छुवाछुत र जातीय विभेदका घटना कम भएको पाइन्छ । जातीय भेदभाव तथा छुवाछुतका अभ्यासहरूमा दलित र अन्य समुदाय एवं दलितहरूकै बीचमा रहेको बाराबारको स्थिति पनि पर्दछ । हिन्दु सँस्कृतिमा पाइने परम्परागत विश्वास अनुसार दलितहरू अरुका निम्ति अशुद्ध मानिन्छन् र उनीहरूलाई अछुत भनी कलंकित गरिएको पाइन्छ ।

मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेर पढाइने ठाउँमा समेत जातीय विभेद भएको पाइन्छ । हामी मानिस आफैँले आफैँलाई सर्वश्रेष्ठ प्राणी भनेर गर्व गर्छौँ तर के व्यवहारमा लागु गरेका छौँ त ? यदि हामी सर्वश्रेष्ठ हो भने सबै मानिसलाई सर्वश्रेष्ठ मान्नुप¥यो नि ! किन जातभाव छुवाछुत भनी उचनीच देखाइरहेका छौँ ?

कानुनसँगै व्यवहारमा परिवर्तन

हामी सबैलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक, अधिकार छ । नेपालको संविधानको धारा ४० र अन्य थुप्रै उपधारा व्यवस्थापन गरिएको छ । संविधानतः विभेद र छुवाछुत गर्नु अपराध हो । नेपालको कानुनअनुसार जातजातिका आधारमा कुनै पनि नागरिक विरुद्ध भेदभाव गरिने छैन भनी समानताको अधिकारलाई प्रत्याभुति गर्नुका साथै सबै प्रकारका छुवाछुतलाई निषेध गरिएको छ । कानुनले छुवाछुतको भेदभावपूर्ण व्यवहार अपराध मानेको छ र यसको प्रभाव शनैशनै व्यवहारमा पनि लागू हुनगएको छ । कानुनसँगै व्यवहारमा केही परिवर्तनहरु देख्न पाइन्छ ।
जातकै आधारमा आज कुनै पेसा जोडिएको छैन । जस्तैः ब्राह्मण जातिले पनि कपडा सिलाएका छन्, जुत्ता चप्पल निर्माण गर्ने उद्योग पनि अन्य जातिले गर्दै आएका छन् । दलित नै राजनीतिक तहमा पुगेका छन्, शिक्षक–प्राध्यापक र कर्मचारी बनेका छन् । ब्राह्मण जातका युवाहरुले कुखुरा, बंगुर पालन समेत गरिरहेका छन् । परापुर्वकालमा दमाइले मात्र बजाउने गरेको नौमती बाजा आज अरु जातिले पनि बजाउँदै आएका छन् । पहिलाजस्तो पानीको कुवा तथा धारा छुन बन्देज छैन । यी केही उदाहरण हुन् । तर सामाजिक चेतना कम भएको ठाउँमा अहिले पनि विभेदहरु बढी छन् ।

ज्यादती र हिंसाका घटना उस्तै

हाल १३.८ प्रतिशत दलित जनसंख्या रहेको हाम्रो देशमा विभिन्न जातजातिप्रति गरिने जातीय विभेद र छुवाछुतको जञ्जालपुर्ण रुपमा उन्मुलन भने भएको छैन ।

गत सालको लकडाउनको अवधीमा मात्र ७५३ वटा दलितमाथिका ज्यादती, हत्या–हिंसाका मुद्दा दर्ता भएको देखिन्छ । जम्मा ३४ जनाको हत्या भएको थियो । देशभरिकै आँकडा हेर्दा प्रदेश नंबर २ मा उच्च रुपमा छुवाछुत र बलात्कारका केस अगाडि देखिन्छन् । यहाँ दलित भएकै कारण कुवा, धारामा अपमान हुनुपरेको, बस्नलाई डेरा नपाएको, विद्यालय भर्ना हुन नपाएको जस्ता थुप्रै उदाहरण रहेका छन् ।

जातकै कारणले २०७७ जेठ १० गते पश्चिम रुकुममा प्रेम विवाह गर्न भनी गएका नवराज विक र उनका साथीहरूको सुनियोजित हत्या भयो । यो निर्मम हत्याकाण्डले समाजको वास्तविक चित्र उदांगो पार्दछ । छिमेकी जिल्ला इलाममा अन्तरजातीय विवाह गरेकै कारण एक छोरीले आफ्नै बुवाको काजकिरिया गर्न पाइनन् । हाम्रो समाजमा अझै पनि यस्ता विषय छन्, जो कि हिजोसम्म आफ्नै मुटुको टुक्रा मानिएका छोराछोरी अन्तरजातीय विवाहपछि आफ्ना सन्तान नै माानिँदैनन् ।

हरेक वर्ष छुवाछुत उन्मुलन दिवस मनाइए पनि छुवाछुत र जातीय भेदभावकै कारण आज पनि दलितमाथि हत्या–हिंसा बलात्कारजस्ता आपराधिक क्रियाकलाप भइरहेका छन् । छुवाछुत उन्मुलनका नाराहरू केवल नारामै सीमित भइरहेका छन् । जातीय विभेद विरुद्धको लडाइँ गाह्रो होला तर सम्भव पक्कै छ । तपाईँ–हामीले आफ्नो सोच र समाज परिवर्तन गरी आजको युग र अबको पुस्तालाई छुवाछुतबाट पूर्णरुपमा उन्मुलन गर्न जरुरी छ ।

छुवाछुत उन्मुलन दिवस २०७८ को सबैमा हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्

LIVE TV