२१ जेष्ठ २०७८, शुक्रबार

काठमाडाैं । लुम्बिनी – विश्वभरका करोडौं बौद्धमार्गीहरुको आस्थाको साझा थलो । हरेक बर्ष यहाँ लाखौं बौद्धमागीहरु मात्र नभएर विश्वभरका शान्तिकामी नागरिकहरु पनि पुग्ने गर्छन । विश्व समुदायमा नेपालको परिचय मात्र नभइ विश्वकै लागि शान्तिको मुहान पनि बनेको लुम्बिनी परिसरलाई अहिले चिटिक्क पार्ने प्रयास जारी छ ।

विश्वभर फैलिएको कोरोना महामारी र यस्को जोखिम नियन्त्रणका जारी निषेधाज्ञाका कारण लुम्बिनी अहिले सुनसान छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको परिचय र ख्याति अनुरुप काम हुन नसक्दा भने यहाँ पुग्नेहरु अहिले पनि खिन्न बन्ने गर्छन ।

लुम्बिनी क्षेत्रको संरक्षण र योजनाबद्ध एवं व्यवस्थित विकासका लागि सन् १९७८ मा लुम्बिनी विकास गुरुयोजना सुरु गरियो । तर ४३ बर्ष पूरा गरिसक्दा पनि यो गुरुयोजना अझै पूर्ण हुन नसक्दा विश्व समुदायमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

यस्ले नेपालमा हुने गरेको ढिलासुस्ती मात्र नभइ राजनीतिक अस्थिरता र विश्वले गौरव गरेको सम्पदामाथि नेपालमा कतिसम्म लापरवाही हुने गरेको छ भन्ने गलत धारणा पनि यस्ले प्रवाह गरेको छ । लुम्बिनी गुरुयोजनाका लागि अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न हुँदा १० अर्ब भन्दा बढी रकम खर्च भइसक्दा अझै ७ अर्ब बढी लाग्ने अनुमान गरिएको छ । तर यो बाँकी काम सम्पन्न गर्न अझै कति बर्ष लाग्ने हो ? यो प्रश्नले धेरैलाई पिरोलेको छ ।

उथान्तको त्यो भ्रमण र लुम्बिनीमा बलेको आशाको दियो

संयुक्त राष्ट्रसंघका तेस्रो महासचिव उथान्तले सन् १९६७ अप्रिल १३ मा लुम्बिनी आइपुगेका थिए । बौद्धमार्गी उथान्तले त्यतिखेर जीवनकै सबैभन्दा ठूलो खुसी र उमंग बोकेका थिए । जुन उत्साह र उमंग बोकेर उनी बुद्धभूमि लुम्बिनी आएका थिए, तर लुम्बिनी आइपुग्दा उनको त्यो उत्साह टिक्न सकेन ।

संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको लथालिंग र अस्तव्यस्त अवस्था देखेर उनका आँखा व्यथित बने, मन भावुक भयो । उथान्तले त्यसअघि लुम्बिनीबारे जे सोचेका थिए, मनमा जुन रेखाचित्र कोरेका थिए, त्यहाँ ती केही थिएनन् । मायादेवीको पुरानो मन्दिर, आडैमा अशोक स्तम्भबाहेक लुम्बिनी उराठ–उदासी देखिन्थ्यो । पवित्र भूमिमा कुनै आकर्षक चिज थिएनन् ।

न बिजुली नत खानेपानी । मन्दिर वरिपरि खेतीपाती । मानौं, यो विश्वकै आस्था केन्द्र होइन, कुनै विकट गाउँ हो । मन्दिर क्षेत्रको हालत र अव्यवस्था देखेर बौद्धपथिक उथान्त विचलित मात्र बनेनन्, लुम्बिनीका लागि केही गर्ने अठोट लिएर फर्किए ।

केन्जो टांगेको त्यो परिकल्पना र लुम्बिनीको हालत

उथान्तको यही आगमनलाई लुम्बिनीको योजनाबद्ध विकासको ‘कोसेढुंगा’ मानिन्छ । उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरे । सरकारले स्वीकार्याे र सन् १९७२ मा जापानी वास्तुविद् प्रा.केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए ।

टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो । जस्लाई १४ बर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको थियो । तर यसरी सुरु भएको योजनाबद्ध विकासले ४३ वर्ष बिताइसकेको छ, अझै गुरुयोजना पूरा हुनसकेको छैन ।

सरकार पिच्छे फेरिने पदाधिकारी र मन्त्रीहरु उदासीनता कारक

यसबीचमा नेपाल सरकार, विभिन्न दातृ निकाय र संघसंस्थाहरुले लुम्बिनीमा अर्बौँ लगानी गरेका छन् । तर खर्च बिवरणको पारदर्शिता नभएको भन्दै पटकपटक आवाज उठ्ने गरेको छ । यस्तोमा नियमन निकाय तैँ चुप मैँ चुप छन् ।

उल्टै कोष र मन्त्रालयबाट नियमविपरीत प्लट वितरण, गुरुयोजनाले नसमेटिएका ठाउँमा संरचना बनाउने काम भइरहेको छ । सरकारै पिच्छे पदाधिकारी फेरबदल हुने र विभागीय मन्त्रीहरुले गुरुयोजना पूरा गर्न खासै चासो नदिने, सरकारबाट उपलब्ध बजेट पनि समयमै खर्च हुन नसक्ने जस्ता समस्या लुम्बिनीमा छन् ।

आशाको पाटो र कछुवाको गति

गएको हप्ता विकास कोषले अर्थ मन्त्रालयबाट चार अर्बका चारवटा बहुवर्षीय ठेक्काको अनुमति पाएको छ । जसमा १४ किलोमिटर मुख्य सडक, भित्री सडक २२ किलोमिटर, ५२ किलोमिटर ढल निर्माण, हरियाली, विद्युतीकरण र १२ वटा गेट निमार्ण हुने छन् ।

कोरोना महामारी अघि बर्षेनी १७ लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउँथे । यसमा डेढ लाख बढी बौद्धमार्गी, अनुयायी, भिक्षु÷भिक्षुणी र अन्य पर्यटक लुम्बिनी आउँथे । यस्तै, आन्तरिक तथा बाह्य पर्यटकको उस्तै चाप हुन्थ्यो । विश्वमा नै नेपाललाई चिनाएको यही लुम्बिनीको विकास भने कछुवा गतिमा छ ।

 

LIVE TV