२० जेष्ठ २०७८, बिहीबार
  • जनकबहादुर शाही,

हुम्ला । कोरोना संक्रमणका कारण हिमाली जिल्ला हुम्लामा पहिलो पटक एकको मृत्यु भएको छ । कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका–२ को रिप गाउँका स्थानीय ५५ वर्षका पुरुषको थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

गत साता लक्षणसहितको संक्रमण पुष्टि भएका टोप्ले कामीको सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले बताए ।

कोरोना संक्रमणका कारण हुम्लामा ज्यान गुमाएको यो पहिलो घटना हो । संक्रमित कामीको अक्सिजनको लेभल ४० भन्दा तल थियो, गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सिजन दिने अवस्था नभएका कारण उनको ज्यान गएको हो ।

सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेका कामीलाई जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्भ शर्माले बताए ।

लमो समयदेखि दम रोगी कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको पालले बताए ।

‘हेलिकोप्टरको लागि धेरै प्रयास भयो’, पालले भने, ‘तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कम्पनीले आउन नमान्ने र कामीको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल ल्याउन लागिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV