१९ जेष्ठ २०७८, बुधबार
  • भगतराम थारु,

नेपालगञ्ज । दोश्रो चरणको कोरोना महामारी फैलिएसँगै बाँके कोरोना संक्रमणको हटस्पट जिल्लाको रुपमा घोषणा गरिएको छ । यसरी कोरोना महामारी कायमै रहोको अवस्था बाँकेमा बजार तथा यातायात केही खुकुलो बनाइएको छ ।

बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्ब्याइएको भएता पनि निषेधाज्ञाको पालना गरिएको छैन । कोरोना संक्रमण फैलिनु अगाडिको जस्तै भीडभाड, पसल सञ्चालन, यातायात सञ्चालन भइरहेका छन् ।

बाँकेमा नामको मात्रा निषेधाज्ञा रहेको स्थानीयको भनाइ छ । बाँकेमा दैनिक ५ देखि १० जनाको कोरोनाका कारण मृत्यु भइरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समय जेठ २४ गतेसम्म लकडाउन थप गरेको छ ।

नेपालगञ्ज बजारका पसल खुल्ला छन्, सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन्, तर स्थानीय प्रशासनको त्यसतर्फ ध्यान नगएको स्थानीयको भनाइ छ । स्थानीय प्रशासन र प्रहरीको लापरवाहीको कारण निर्वाध रुपमा सञ्चालनमा रहेका सवारी साधन र पसलहरु बन्द भएका छैनन् ।

‘प्रहरीको चोक–चोकमा उभिने मात्र काम छ । ड्यूटी पूरा गरेको मात्र देखिन्छ’, एक स्थानीयले भने । चिने जानेकाहरुको पसललाई बन्द गराए जस्तो गर्ने र खोल्न दिने प्रबृत्ति रहि आएको अर्का एक स्थानीयले भने ।

बाँकेमा निषेधाज्ञाको अर्थ नरहेको उनको भनाइ छ । उनले भने, ‘चोकमा मात्र कडाई गरेर लकडाउन सफल हुन्न । भित्री बाटो र त्यहाँ रहेका पसलहरु पनि बन्द गर्न तिर प्रहरीले ध्यान दिनु आवश्यक छ ।’

मास्क, सामाजिक दूरी कायम, सेनिटाइजरलगायतको स्वास्थ्य मापदण्ड केही अपनाइएको छैन । साथै बजार, भीडभाड, यातायात निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । कोरोनाको हटस्पट मानिएको बाँकेमा प्रहरी प्रशासनको लापरवाहीले दैनिक कोरोनाको मृत्युदर बढेको छ ।

पछिल्लो समय मृत्युदरमा केही कमी आएसँगै बजार खुकुलो बनाएको छ । ‘बजार खुकुलो बनाउनु राम्रो होइन’, एक जना स्थानीयले भने, ‘कोरोनाको महामारीमा आफू सतर्क रहन आफैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ ।’

यता बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने कोरोनाको मृत्युदर र संक्रमण दर घटेसंगै लकडाउन खुकुलो बनाएको जानकारी गराए । विहान आफ्नो गन्तव्यसम्म जान र आउनलाई सहज बनाउनका लागि लकडाउन खुकुलो बनाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV