१७ जेष्ठ २०७८, सोमबार

काठमाडौँ उपत्यकासंग जोडिएका विभिन्न जिल्लाहरुमध्ये नुवाकोट जिल्ला पनि एक हो । नुवाकोट जिल्ला परापूर्व कालदेखि इतिहासका घटनाहरुसंग जोडिएर चर्चापरिचर्चामा रहको पाइन्छ । यो प्राकृतिक र धार्मिक रुपले पनि निकै सम्पन्न रहेको पाइन्छ । वर्तमान समयमा यस जिल्लामा बाह्रवटा स्थानीय तहहरु रहेका पाइन्छन् । जसअन्तर्गत दुई वटा नगरपालिका र दश वटा गाउँपालिका रहेका छन् । यो जिल्ला धानबालीको लागि पनि प्रख्यात नै रहेको देखिन्छ । यसको सदरमुकाम विदुरबाट पूर्वतिर तादी, पञ्चकन्या र दुप्चेश्वर गाउँपालिका रहेका पाइन्छन् । यिनीहरु प्राकृतिक तथा धार्मिक रुपले निकै सम्पन्न रहेका देखिन्छन् ।

भौगोलक विकटताको कारणले पछाडि परेतापनि प्राकृतिक, सास्कृतिक र धार्मिक रुपले सम्पन्न नै रहेका पाइन्छन् । यस क्षेत्रमा कृषि पेसा गर्नेहरुको सङ्ख्या पनि उच्च नै रहेको पाइन्छ । भौगोलिक विकटता, प्राकृतिक तथा धार्मिक रुपमा विविधता यस क्षेत्रको पहिचान नै रहेको पाइन्छ । दुपचेश्वर गाउँपालिकाको दुप्चेश्वर मन्दिर नुवाकोट जिल्लाकै प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । यसमा दर्शनालम्बीहरुको निकै भिडभाड समेत रहने गर्दछ । त्यसैगरी तादी गाउँपालिकाको वडा न. चारमा अवस्थित बाघमारा प्राकृतिक रुपले निकै सम्पन्न रहेकोले भविश्यमा यसले पर्यटकीय स्थलको सम्भावना बोकेको पाइन्छ ।

यसमा पञ्चकन्या, तादी र दुप्चेश्वर गाउँपालिका लगायतका मानिसहरु मनोरञ्जन प्राप्त गर्न आउने गर्दछन् । यसरी तादीको बाघमाराले प्राकृतिक सौन्दर्यतालाई चित्रण गरेको छ भने दुप्चेश्वरको दुप्चेश्वर मन्दिरले यस क्षेत्रको धार्मिक पहिचानलाई झल्काएको पाइन्छ । प्राकृतिक सौन्दर्यको आनन्द लिन मानिसहरु बाघमाराको आगनमा विलिन हुन्छन भने धार्मिक आस्था पूरा गर्न र मनले चाहेको सपना पूरा गर्न दुप्चेश्वर महादेवको पवित्र प्राङ्गणमा दर्शन गर्न पुग्छन् ।

तादी गाउँपालिका :- बाघमारा – तादी गाउँपालिका नुवाकोट जिल्लाका बाह्र वटा स्थानीय तहहरु मध्येको एक प्राकृतिक रुपले सम्पन्न गाउँपालिका हो । यो सदरमुकाम विदुर देखि २० कि.मि पूर्वपट्टी सामुद्रिक सतह देखि करिब ३८०० मिटरको उचाईमा अवस्थित रहेको पाइन्छ । यसको सदरमुकाम खरानीटार ढिकुरे दुप्चेश्वर सडक खण्डको बिचमा रहेको पाइन्छ । यो ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक रुपले निकै सम्पन्न रहेको पाइन्छ । यस गाउँपालिकाको नामाकरण पवित्र धार्मिक स्थल सूर्यकुण्ड बाट बगेर आउने तादी खोलाको नामबाट गरिएको पाइन्छ । विकासका पूर्वाधारको दृष्टिकोणले यस गाउँपालिकाका सबै वडाहरु वा बस्तीहरुमा सडक पुगेको देखिन्छ ।

यो काठमाडौं उपत्यकाको उत्तरपट्टि ५५ कि.मि. को दुरीमा रहेको पाइन्छ । यस गाउँपालिकामा बाहुन, क्षेत्री, आदिवासी र जनजातिको मिश्रित बसोबास रहेको देखिन्छ । यहाँका अधिकाशं मानिसहरुले कृषि पेसाका साथसाथै व्यपार व्यवसायलाई प्राथमिकता दिएको पाइन्छ । यस गाउँपालिकाको वडा नं ४ मा अवस्थित बाघमारा प्राकृतिक रुपले सम्पन्न रहेकोले भविश्यमा यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने चाहाना यहाँका स्थानीयहरुको रहेको देखिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसंग जोडिएको प्राकृतिक वातावरणले सम्पन्न र सुन्दर बाघमारा क्षेत्रमा काठमाडौंको सून्दरीजल देखि प्रसिद्ध धार्मिक स्थल गोसाईकुण्ड जाने पदमार्ग समेत रहेको पाइन्छ । यसले गर्दा पनि यसको पर्यटकीय सम्भावना उच्च रहेको देखिन्छ । यो क्षेत्र विभिन्न प्रकारका जिवजन्तु र प्रजातिका फूलहरुले बेहुली जस्तै सिङ्गारिएको पाइन्छ । त्यसैले पर्यटकहरु यस क्षेत्रमा निकै मनोरञ्जनका साथ रमाउने गर्दछन् ।

दुप्चेश्वर गाउँपालिका :- दुप्चेश्वर महादेव – यो गाउँपालिका नुवाकोट जिल्लाका बाह्र वटा स्थानीय तहमध्येको एक धार्मिक रुपले सम्पन्न गाउँपालिका हो । यो नुवाकोटको सदरमुकाम विदूर र तादी गाउँपालिकाको पूर्वपट्टि अवस्थित रहेको पाइन्छ । यस गाउँपालिकाको वडा न. ६ मा दुप्चेश्वर महादेवको मन्दिर रहेको पाइन्छ । यो नुवाकोटका विभिन्न धार्र्मिक स्थलहरु मध्येको एक प्रसिद्ध र पवित्र धार्मिक स्थलका रुपमा चिनिन्छ । दुप्चेश्वर गाउँ पालिकाको नामाकरण नै यसै महादेवको मन्दिरको नामबाट गरेको पाइन्छ । यसले समग्र नुवकोटलाई नै चिनाउने गर्दछ । कतिपयले त यसलाई दुप्चेश्वर गाउँपालिकाको प्रतीकका रुपमा समेत लिने गरेको देखिन्छ ।

भगवान् शिवका विभिन्न पिठहरुमध्ये दुप्चेश्वर महादेव लाई पनि एक महत्वपूर्ण पिठको रुपमा लिने गरेको पाइन्छ । दुप्चेश्वर महादेवको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा एकजना गोठलाले गाईहरु चराएर घर लैजाने क्रममा एउटा गाई हराएको र खोज्दै जाँदा पहरा बाट दुधका धारा चुहिएको देखेर पहरामा जाँदा गाईसंगै दुप्चेश्वर महादेव पत्तालागेका तथ्यहरु यहाँका स्थानीयहरुले बताउने गरेका पाइन्छन् । भगवान् शिवको शक्तिका कारण मागेको कुरा पुरा हुने भन्ने पक्षमा दर्शनालम्बी र यहाँका स्थानीयहरु विश्वस्त रहेका पाइन्छन् । तसर्थ यहाँ दर्शनालम्बीहरुको भिडभाड रहने गर्दछ । छोरा÷छोरी नहुनेले दुप्चेश्वर महादेवको दर्शन गरेमा छोरा ÷छोरी प्राप्तहुने र दुध चढाएमा गाई भैसि ब्याउने वा दुहुनो कहिल्यै पनि नटुट्ने किंवदन्ती रहेको पाइन्छ । यस्तै विश्वासका कारण धेरैजसो मानिसहरु दुप्चेश्वर महादेवको दर्शन गर्नको लागि टाढा टाढा बाट आउने गर्दछन् ।

दुप्चेश्वर महादेव ढुङ्गै ढुङ्गाको वा चट्टानको बिचमा रहेकोले दर्शानार्थीलाई दर्शन गर्न विगतमा सारै गाह्रो भएतापनि वर्तमान समयमा त्यसको पुरानो संरचनालाई कायमै राखी केही मात्रमा भौतिक संरचनाको निर्माण गरिएकोले केही सहजता आएको देखिन्छ । आजकल दर्शनार्थीले पनि पहिलेको भन्दा आउन जान सहज भएको बताउने गरेको पाइन्छ । दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको दिन ठूलो मेलालाग्ने हुनाले नुवाकोट लगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरु उच्च मात्रामा रहने कुरा यहाँका स्थानीयहरुले बताउने गरेका छन् ।

समस्याहरु
नुवाकोट जिल्लाको पूर्र्वी क्षेत्रमा विभिन्न सम्भावना हुँदा हुँदै पनि विविध समस्याका कारण यस क्षेत्रको विकास हुन सकिरहेको देखिदैन । यस क्षेत्रमा मूख्य समस्याका रुपमा भौगोलिक विकटतालाई लिने गरिन्छ । यस लगायत अन्य समस्या अन्तर्गत भौगोलिक विकटता, सूचना प्रविधि तथा प्रचार प्रसारको अभाव, आवश्यकतामा आधारित विकास योजनाको निर्माण नगरिनु, राजनीतिक चरम हस्तक्षेप, विकास योजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कनको अभाव, विकासमा सबै वर्गको पहुँच र सहभागिता सुनिश्चित नहुनु, यस क्षेत्रको पहिचान बोकेका धार्मिक तथा पर्यटकी क्षेत्रको उत्थान नगरिनु, विकासमा विभेद गरिनु, तिनवटै सरकारका बिच समन्वय र सहकार्य प्रभावकारी नहुनु, पर्यटकीय क्षेत्रको पहिचान नगरिनु, विकासमा नयाँ सोच र चिन्तनको प्रयोग नहुनु, विकास योजनामा प्राथमिकता निर्धारण नगरिनु, सामाजिक समानता र समताप्रति वास्ता नगरिनु र यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्नको लागि पर्याप्त बजेटको अभाव आदि ।

समाधानका उपायहरु
नुवाकोटको पूर्वी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र उत्थान गर्नको लागि योजना निर्माणमा सबै वर्गको पहुँच र सहभागितालाई सुनिश्चित गराउनु पर्ने देखिन्छ । विकास निर्माणका क्रममा आइपरेका विविध समस्याको समाधान योजनागत ढंगबाट गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा भएका पर्यटकीय र धार्मिक क्षेत्रका विविध समस्याको समाधानका लागि भौगोलिक विकटताको अन्त्य गर्नको लागि सडक विस्तारका कार्यक्रमलाई प्राथमिकता दिने, प्रचार प्रसार र सूचना प्रविधिमा जोड दिने, मानवीय संसाधनको प्रभावकारी सञ्चालन गर्ने, योजना निर्माण कार्यमा सबै वर्गको समान पहुँच र सहभागिताको सुनिश्चितता गर्ने, सामाजिक समानता र सामाजिक न्यायको पुनःस्र्थपना जस्ता कार्यमा जोड दिने, धार्मिक मूल्य र मान्यताको बचाउ गर्दै समयानुकुल संरचनात्मक परिवर्तन गर्ने, पर्यटन विकास र प्रवद्र्धनका कार्य गर्ने, पर्यटकीय क्षेत्रको भौतिक विकासमा जोड दिने, प्राकृतिक सौन्दर्यतालाई नबिग्रने गरी संरचनात्मक सुधारका कार्यलाई प्राथमिकता दिने, आदिवासी, जनजाति, महिला र दलित वर्गको उत्थानका कार्यक्रम सञ्चालनमा ल्याउने, स्थानीय पाठ्यक्रमको विकास तथा निर्माण गरी पर्यटन, धार्मिक तथा प्राकृतिक क्षेत्रका विषयलाई समावेश गर्ने, प्राकृतिक स्रोत साधनको रक्षा गर्ने, धार्मिक क्षेत्रमा दर्शनालम्बीहरुको भिडभाडलाई सही व्यवस्थापन आचारसंहिता निर्माण गरी लागु गर्ने, दिगो विकासका मान्यतालाई आत्मासात गरी भौतिक निर्माणका कार्यमा तिव्रता दिने, आवश्यकतामा आधारित विकास योजना निर्माणमा जोड दिने, अनुगमन मूल्याङ्कनका कार्यलाई प्राथमिकता दिने आदि ।

निष्कर्ष:
नुवाकोट जिल्लाको पूर्र्वी क्षेत्र आफैंमा एक प्राकृतिक र धार्मिक रुपले सम्पन्न रहेको पाइन्छ । वर्तमान समयमा स्थानीय सरकारले तिनै प्राकृृतिक र धार्मिक क्षेत्रको विकासका लागि प्रभावकारी योजनाको निर्माण गरी कार्यान्वयन गर्न सकेको खण्डमा पर्यटकको सङ्ख्यालाई बढाइ यस क्षेत्रको आर्थिक विकास र वृद्धिमा सहयोग पुग्ने देखिन्छ । तादीको बाघमारा र दुप्चेश्वरको दुुप्चेश्वर महादेवको मन्दिरको क्षमता विकास गरी पर्यटन व्यवसायलाई फस्टाउन सकेको खण्डमा यस क्षेत्रको आर्थिक अवस्था सुधार हुने देखिन्छ । यसैगरी स्थानीय आवश्यकतालाई आधार मानी आधारभूत तहसम्मको स्थानीय पाठ्यक्रमको निर्माण गरी कार्यान्वयन गर्न सकेको खण्डमा अझै पर्यटन विकासका सम्भावनाहरु बढ्ने देखिन्छन् । यसले गर्दा प्राकृतिक र धार्मिक स्थलहरुको बारेमा सबैजना जानकार हुने गर्दछन् । स्थानीय पर्यटकहरुमा पनि चासो बढ्ने वा सूचना प्राप्त हुने गर्दछ ।

यसरी दुप्चेश्वर गाउँपालिकामा रहेको दुप्चेश्वर मन्दिरको क्षमता विस्तार गरी दर्शनालम्बीहरुलाई आउन जान सहज हुने गरी विकासका कार्यमा जोड दिनुपर्ने देखिन्छ । स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम प्र्रयोग गरी विकासका कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ । यस क्षेत्रमा पर्यटकीय र धार्मिक क्षेत्रका रुपमा चिनिएका तादीको बाघमारा र दुप्चेश्वरको दुप्चेश्वर महादेवको मन्दिरलाई पर्यटकीय रुपमा विकास गर्नको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

मुलुक संघीय गणतन्त्रमा गए पश्चात स्थानीय स्तरमा भएका प्रचारप्रसारमा नआएका चर्चित र धार्मिक मूल्य मान्यता बोकेका विभिन्न स्थलहरुको पहिचान र विकासका कार्यले तिव्रता पाएको छ । त्यसैले भविश्यमा उल्लिखित स्थलहरुको समायनुुकुल वा नुवाकोटको पूर्वी क्षेत्र, पर्यटकीय र धार्मिक रुपले विचित्र भन्ने नारालाई आत्मसात् गरी विकास गर्न सकेको खण्डमा नुवाकोटको पूर्वी क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा रहने देखिन्छ । यसले गर्दा यस क्षेत्रको आर्थिक विकास र वृद्धि भई सामाजिक समानता, समता र सामाजिक न्याय जस्ता पक्षहरुको विकास हुने सम्भावना उच्च रहेको पाइन्छ ।

(खगेन्द्र धामी तादी गाउँपालिका, नुवाकोटमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखका रुपमा कार्यरत छन्)

प्रतिक्रिया दिनुहोस्

LIVE TV