१७ जेष्ठ २०७८, सोमबार

दाङ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा उप-निर्वाचनको मतदान जारी रहेको छ । मुख्यमन्त्री शकर पोख्रेलले मत खसालेपछि मतदान सुरु भएको हो । लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा उपनिर्वाचनको लागि मतदान केन्द्र तोकिएको छ । उप निर्वाचनमा दुईजनाको प्रतिस्पर्धा रहेको छ भने बिहान १० बजेसम्म १२२ जनाले मतदान गरिसकेका छ्न् ।

काेराेना महामारीका कारण जारी निषेधाज्ञाबीच भइरहेकाे मतदानमा सामाजिक दूरीकाे नियम भने खासै पालना गरेकाे देखिएन । मतदाताहरूकाे चहलपहलका कारण भीडभाड भएकाे देखिन्छ । यद्यपि भाेटिङका क्रममा भने लाइन र निश्चित दूरीकाे व्यवस्था गरिएकाे छ । तर मतदान केन्द्र परिसर र बाहिर भने भीडभाड देखिएकाे हाे ।

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि रिक्त पदमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपानिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका खड्का कारबाहीमा परेका थिए । खड्काको रिक्त स्थानमा लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । एमाले सांसद पाण्डे वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्ष), माधव नेपाल पक्ष र जनमोर्चाबाट मत प्राप्त हुने भएको छ ।

प्रदेशसभा सदस्य ८३ जना र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष २ सय १७ जना गरी कुल ३०० जना मतदाताको नामावली स्वीकृत भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको मन्त्रीमण्डलमा सहभागी भएपछि कारबाहीमा परेका जसपाका सांसद पुनर्वहाली भए पछि मतदाताको नामावलीमा हिजो मत्रै समाबेस गरिएको थियो । सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई जसपाको उपेन्द्र यादव पक्षले कारबाही गरेपछि उनीहरु सवोच्च पुगेर सांसद पद जोगाएका थिए ।

राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा ५ जना मतदानमा सहभागी नहुने भएका हुन । ८७ प्रदेशसभा सदस्यबाट ८३ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१७ जनाले मत दिनेछन् । प्रदेश सभामा ८ र स्थानीय तहमा १ गरी ९ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छैन ।

लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उप्रमुखको मतभार १८ हुन्छ । स्थानीय तहमा कुल मतभार तीन हजार ९०६ छ । प्रदेशसभामा कायम सांसदका आधारमा तीन हजार ७९२ मतभार छ । कुल मतसंख्या सात हजार ६९८ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV