१७ जेष्ठ २०७८, सोमबार

तरकारी खेतीका लागि प्रख्यात छ, मकवानपुरको थाहा नगरपालिका । काठमाडौँबाट नजिकै रहेकाे र त्रिभुवन राजमार्गले जोडिएको यो नगरपालिकामा पछिल्लो समय केही विकासे कामहरु पनि भएका छन् । स्थानीय सरकार आएपछि यहाँ बाटोघाटो, पुलहरु, पदमार्ग, तरकारी खेती प्रवद्र्धन लगायत कामहरु भएको नगर प्रमुख (मेयर) लवशेर विष्टकाे दाबी छ । प्रस्तुत छ उनै नगरप्रमुख लवशेर विष्टसँग न्यूज २४ का लागि गरिएकाे कुराकानीः

तपाईहरू निर्वाचित भएर आउनु भएपछि आम जनताको लागि प्रत्यक्ष प्रभाव पार्ने खालका के के काम गर्नुभयो ?

जनताको धेरै अपेक्षाका बीच हामी निर्वाचित भएर आयौँ । विकासको मोडल जनताकै बीचमा जानेगरी जनताको आवश्यकता पहिचान गरेर योजनाहरू बनाई काम गरिरहेका छौँ । हामीले विकासको मूल आधार पूर्वाधारलाई नै बढी जोड दिएको छौँ । हाम्रो नगरपालिकामा भएका पर्यटकीय स्थलहरूको विकासका लागि आवश्यकता अनुसारको पुर्वाधार निर्माण गरिरहेका छौँ ।

नगरपालिकाको विकास निर्माणका कामहरू कसरी अगाडि बढाइरहनुभएको छ ?

शहरी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा निर्माण भएका बाटाकै कुरा गर्ने हो भने पृथ्वीलाई दुई फन्का लगाउन पुग्ने बाटो बनिसकेको छ । हामीले हरेक वडा कार्यालयसम्म बाटो पुर्याएको छौँ । मोटर बाटोको स्तरीकरण, मर्मत–सम्भारदेखि संरक्षण पनि गरिरहेका छौँ । हामीले विकास निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छौँ ।

मानिसहरूको बढी आवात जावात हुने ठाँउहरूलाई पहिलो प्राथमिकताका साथ निर्माण गरिरहेका छौँ । पहिलो वर्ष प्रत्येक वडामा ५÷५ किलोमिटर सडक निर्माण गर्यौं । हालको अवस्थामा देशको राजनीतिक अवस्था र कोभिड– १९ का कारण अप्ठेरो भएको छ । यसै कारण हामीले अपेक्षा अनुसारको काम गर्न नसके पनि २-३ वडा कार्यालयका सडकहरूमा हामीले पिचको सुरुवात गरेका छौँ । सबै वडाका सडकहरू पिच गर्न नसके पनि ग्राभेल भैसकेको अवस्था छ । हामीले कुनै आयोजना सुरु गर्दा त्यसको आवश्यकता र बजेटको सिलिङ्गलाई बढी जोड दिएका छौँ ।

कोरोना कालमा के के कठिनाइ भोग्दै हुनुहुन्छ ? कोरोनाबाट विस्थापित भएकाहरूलाई पुनःस्थापित गर्ने योजना के के छ ?

कोभिडबाट कोही पनि विस्थापित भएको अवस्था छैन ।हाम्रो पालिकाको आम्दानीको मुख्य स्रोत तरकारी खेती हो । पहिलो कोरोना कालमा हाम्रो क्षेत्रमा उत्पादित तरकारी नबिकेर फाल्नुपर्ने अवस्था आएको थियो । उत्पादित तरकारी फाल्नुपर्दा पनि हामीले कृषकहरूलाई अनुदान दिन सकेनौँ । कृषकहरूको क्षति विवरण संकलन गरी हामीले केन्द्र र प्रदेश सरकारमा पठायौँ, त्यताबाट पनि खासै सहयोग भएन । भविष्यमा पनि यस्ता विपत्तिबाट क्षति कम गर्नका लागि तरकारी सुख्खा बनाउने ड्रायर मेसिन खरिद गरेका छौँ । कृषकहरूका लागि ४ वटा ड्रायर मेसिन कृषि सहकारी मार्फत वितरण गरेका छौँ ।

तपाईहरूले चुनावका बेला बोल्नुभएको र घोषणापत्रमा जारी भएका वाचाहरू कति पूरा भए त ?

चुनावका बेला मैले बढी कुरा केही बोलिनँ, चुनावका बेला बोलेका भन्दा दश गुणा बढी काम भएको छ । २ वटा पक्की पुल निर्माणको अन्तिम चरणमा छन् । २ वटा पक्की पुलको डिपिआर तयार पारेका छौँ । झोलुङ्गे पुलहरू पनि निर्माण गरेका छौँ । समग्रमा भन्नुपर्दा चुनावका बेला गरेका वाचाभन्दा बढी काम भएको छ ।

थाहा नगरपालिका तरकारी खेतीका लागि प्रख्यात मानिन्छ । तरकारी खेतीको विस्तार र प्रवद्र्धन गर्ने तपाईहरूको रणनीति के छ ?

तरकारी खेतीका लागि प्रख्यात ठाँउ दामन पालुङ्गमा आलु एकदमै धेरै उत्पादन हुन्छ । असिना पानीले वडा नम्बर ३ आसपासका क्षेत्रमा व्यापक क्षती भएको छ । आलु खेती मात्रै गर्ने किसानहरू भोकमरीमै पर्नसक्ने अवस्था छ । हाम्रो पालिकामा व्यावसायिक रुपमा वि.स २०५० साल पछाडी आलु खेती गरिँदै आइएको छ । हामी निर्वाचित हुने बेलासम्म पनि शीत भण्डार बन्न सकेको थिएन ।

हामीले १७ सय मेट्रिक टन आलु राख्न सकिने कोल्ड स्टोर निर्माण गर्दै छौँ, जुन अन्तिम चरणमा छ । तरकारी खेती व्यावसायिकताका लागि टनेल खेतीको विस्तार गरेका छौँ । ३ हजारभन्दा बढी टनेलमा खेती गर्न थालिएको छ । टनेल निर्माणका लागि कृषकहरूलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ । हाते ट्रयाक्टर र विषादी छर्ने उपकरण पनि वितरण गरेका छौँ ।

तपाईको पालिकाको खास विशेषता के हो, जसलाई आम मानिसले चिन्न सकून् ? पालिकाभित्र भएका पर्यटकीय ठाँउहरूको संरक्षण र प्रवद्र्धनमा के के काम गर्नुभयो ?

काठमाडाैँलाई तराईसँग जोड्ने त्रिभुवन राजपथ वि.सं. २०१३ सालमा निर्माण भएको हो । यो राजमार्गको आधाजति भाग थाहा नगरपालिकामा पर्छ । दामन, पालुङ्ग, सिमभञ्याङ लगायत क्षेत्र थाहा नगरपालिकाका पर्यटकीय क्षेत्रहरू हुन् । यी क्षेत्रहरूमा हामीले पुर्वाधार निर्माण गरिरहेका छौँ । प्रदेश सरकारले निर्माण गर्ने १० हिलस्टेमध्ये थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सिमाना चित्लाङ क्षेत्रमा हामीले नमुनाको रुपमा केही किलोमिटर पदमार्ग निर्माण गरेका छौँ । स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरूको व्यापारका लागि शिखरकोटमा कोसेली घरको निर्माण गरेका छौँ ।

तपाईले थाहा नगरबासीका लागि देख्नुभएको सपना के हो ?

थाहा नगरवासीका हरेक समस्या समाधानका लागि मैले अपनत्वका साथ काम गरिरहेको छु । पर्यटन पार्क, कोल्ड स्टोर, पक्की पुललगायत जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने कामहरूलाई पनि ध्यानमा राखी कामहरू अगाडि बढाइरहेका छौँ । मेरो कार्यकालभरि नगरवासीहरूलाई सन्तुष्ट पार्नका लागि दिनरात पालिकाकै काममा खटिएका छौँ । ५ वर्षे कार्यकालमा तपाईहरूले थाहा नगरपालिकामा धेरै फरकहरु महसुस गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV