१३ जेष्ठ २०७८, बिहीबार
  • सुरेश श्रेष्ठ,

तुलसीपुर । बेस संस्था तुलसीपुरले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि घुम्ती शिविर सुरु गरेको छ । डाक्टर राजिव झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली आजदेखि गाउँ–गाउँमा खटिएको बेस नेपालका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैमा घुम्ती शिविरको उद्घाटन गर्दै पूर्वराज्यमन्त्री एवं प्रदेश सभासद्स्य डिल्ली बहादुर चौधरीले कोरोनाको भय, त्रास र समुदायको लाजका कारण संक्रमणलाई लुकाएर राखेका ब्यक्ति र परिवारलाई घुम्ती शिविरमा खटिएका स्वास्थकर्मीले मनोपरामर्श दिनुका साथै प्रारम्भिक उपचार गर्ने बताए ।

बेस संस्थाका अध्यक्ष समेत रहेका चौधरीले भने, ‘स्थानीय सरकारलाई यो अवस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो छ । स्थानीय सरकारसँग समन्वयमा घुम्ती स्वास्थ शिविर गाउँमा खटिएको हो ।’

स्वास्थकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजिव झाले गाउँ बस्तीमा कोरोना पीडित ब्यक्तिले पीसीआर परीक्षण नगराउने र संक्रमण लुकाएर राख्दा झनै संक्रमणको भयावह स्थिति आएको बताए ।

उनले भने, ‘ज्वोरो नाप्ने थर्मल गन, अक्सिजनको मात्रा चेक गर्ने अक्सोमिटर प्रयोग गर्ने र अवस्थाको बिश्लेषण गरी आवस्यक औषधि निःशुल्क रुपमा उपलब्ध गराइने छ । कोरोनाको लक्षण देखिएका र आशंका लागेकालाई पीसीआर टेष्टका परामर्श दिइने छ ।’

डाक्टर झाका अनुसार आज पहिलो दिन २५ जनाको स्वास्थ जाँच गरिएको छ । उक्त कार्यक्रममा तुलसीपुर नगर स्तरीय मनोपरामर्श समूहका संयोजक सुशी बस्नेत र सदस्य सचिब निर्मल नेपालीले मनोपरामर्श र उपचार विधिका बारेमा केही सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV