१३ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार एवं पूर्र्व उपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धी अध्यादेशमा गैरआवासीय नेपालीहरु (एनआरएन)को मुद्दा सम्बोधन नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले विज्ञप्ती जारी गरी सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको टिप्पणी गरेका हुन् । नेपालको संविधानमा नै उल्लेख गरिएको विषयलाई पनि सरकारले उपेक्षा गरेको उनको आरोप छ ।

‘देशका अन्य नागरिकहरुका नागरिकताका सवाल संसद नभएको अवस्थामा फास्ट ट्रयाकमा सम्बोधन भैरहेको अवस्थामा गैर आवासीय नेपालीका नागरिकताका सवालमा भने निरन्तर विलम्ब हुनु दुःखद पक्ष हो । यसतर्फ नेपाल सरकारको जति सक्दो चांडो ध्यान जाओस् भन्ने आग्रह गर्दछु’ आचार्यले भनेका छन् ।

भूकम्पको बेला वा अन्य जुनसुकै बिपत्तिमा गैर आवासीय नेपालीहरुले मातृभूमि र नेपालीहरुको लागि सहयोग गरिरहेको स्मरण गर्दै आचार्यले सरकारले भने कहिल्यै उनीहरुको बारेमा ध्यान नदिएको गुनासो गरेका छन् ।

आचार्यले भनेका छन्, ‘गैर आवासीय नेपालीहरुले भूकम्पको बखत होस् या अन्य संकटको समयमा निरन्तर सहयोग गरिरहेको अवस्था छ । महामारीको बखत सबै भन्दा धेरै पीडा भोगेका प्रवासी नेपालीहरुलाई देशको सहयोग आवश्यक थियो । तर संविधानले नै प्रत्याभूत गरेको गैरआवासीय नागरिकताका विषयमा भने अझै सुनुवाइ भएन ।’

आचार्यले नेपाली नागरिकता, सम्पत्तिको अधिकार, श्रमिकको सुरक्षा नै एनआरएनएको मूल मन्त्र भएको स्पष्ट पारेका छन् । प्रवासमा नेपाल र नेपालीको दूत बनी नेपाली भाषा, संस्कृति, व्यापार र राष्ट्रियताको पनि एनआरएनहरुले पैरवी गरिरहेको स्मरण गरेका छन् ।

संसदको राज्य व्यवस्था समितिले तयार पारेको नागरिकता सम्बन्धी विधेयकमा एनआरएन नागरिकताको प्रावधान समावेश गरिएपनि सरकारले गत साता जारी गरेको अध्यादेशमा उक्त प्रावधान हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV