१३ जेष्ठ २०७८, बिहीबार

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस कसरी उत्पत्ति भयो भन्नेकारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।

सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको डेढ वर्षसम्म पनि रहस्यमय बन्दै गएको छ । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न आफ्ना वैज्ञानिकहरुलाई निर्देशन दिएका हुन् ।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको बाइडेनको निर्देशनमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले विश्वव्यापी समान विचारधारा भएका साझेदारहरूसँग पनि मिलेर काम गरिरहनेछ, ताकि पूर्ण दबाव, पारदर्शीता, प्रमाणमा आधारित अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन र सबै सम्बन्धित डाटा र प्रमाणहरूको पहुँच पुर्‍याउन चीनलाई दबाब दिन सकियोस् ।’

वुहानको जनावर बेचबिखन गर्ने एक बजारबाट फैलिएको भनिएको यो भाइरस चमेरोबाट मानिसमा सरेको अनुमान गरिँदै आएको छ । तर यसको पनि कुनै पुष्टि भएको छैन ।

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा जानकारी गराएको थियो । तर अमेरिकाले भने सूचना लुकाएको आरोप लगाएको थियो ।

वालस्ट्रिट जर्नलकाे खुलासा

अमेरिकी गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि नै अर्थात् सन् २०१९ को नोभेम्बरमा नै वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू एकैसाथ बिरामी भएर अस्पतालमा भर्ना भएको दाबी गरेको खुलासा त्यहाँकाे एक जर्नलले गरेकाे छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरस चीनले बनाएको र चिनियाँ भाइरस भन्दै आक्रोश पोख्ने गरेका थिए । आइतबार मात्रै अमेरिकी दैनिक पत्रिका वालस्ट्रिट जर्नलले यसअघि सार्वजनिक नभएको उक्त गुप्तचरको प्रतिवेदन अनुसारको समाचार बाहिर ल्याएपछि ट्रम्पको भनाइलाई बल पुग्नेगरी यो विषय फेरि चर्चामा आएको हो ।

वालस्ट्रिटले गुप्तचरकाे प्रतिवेदन यसअघिको डोनाल्ड ट्रम्प प्रशासनद्वारा सार्वजनिक गरिएकाे स्टेट डेपार्टमेन्ट फ्याक्ट सिटमा समावेश गरिएको तथ्यभन्दा फरक र विस्तृत भएको जनाएको छ । यस दाबीले प्रयोगशालाबाटै भाइरस बाहिर निस्केको हुनसक्ने सम्भावना रहेकाे भन्दै स्वतन्त्र रूपमा अनुसन्धान गरी सत्थ्यतथ्य बाहिर ल्याउन दबाव परेकाे छ । यसबारे थप अनुसन्धान हुनुपर्ने अमेरिकी विज्ञहरूकाे समेत राय छ ।

हालसम्म कोरोना महामारीका कारण विश्वभर ३५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्वभर कुल १६ करोड ९० लाख मानिस संक्रमित भएकोमा १५ करोड मानिस भने संक्रमणमुक्त भइसकेका छन् । पछिल्ला दिनहरुका दक्षिण एशियाली मुलुहरुमा कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ । भारत, नेपाल लगायत देशहरु यसको चपेटामा नराम्ररी परेका छन् । – एजेन्सीहरूकाे सहयाेगमा

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV