११ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले स्थानीय तह र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता गरेर अबको दुई महिनाभित्र भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा इन्टरनेट पुर्‍याउने योजना रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयद्वारा मंगलबार सिंहदरबारमा स्थानीय तहमा इन्टरनेट पुर्‍याउने बारे सरोकारवाला प्रतिनिधिसँगको छलफलमा मन्त्री गुरुङले सम्झौतापछि अबको दुई महिनाभित्र ती जिल्लाका स्थानीय तहमा इन्टरनेट पुर्‍याउने बताएका हुन् ।

उनका अनुसार प्रत्येक स्थानीय तहमा सूचना केन्द्र स्थापना गर्ने र ग्रामीण क्षेत्रमा देखिएको टेलिफोन टावरको समस्या समाधान गरिनेछ । सो क्षेत्रमा दुई वर्षसम्म गुणस्तरीय र भरपर्दो इन्टरनेट निःशुल्क उपलब्ध गराइने र दुई वर्षपछि स्थानीय तह र प्राधिकरणले केही प्रतिशत ब्यहोर्ने गरी व्यवस्था मिलाइने समेत बताए ।

उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउन सम्झौता हुने जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद्ले भूकम्प अतिप्रभावित काठमाडाैं उपत्यकाबाहेकका ११ जिल्लाहरुमा नवीनतम प्रविधिमार्फत् मितव्ययी रुपमा सम्बन्धित स्थानीय तहको समन्वयमा इन्टरनेट सेवाको क्षमता अभिवृद्धि गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV