४ जेष्ठ २०७८, मंगलवार
  • जनकबहादुर शाही,

हुम्ला । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले सदरमुकाम सिमकोटको तल्लो बजारस्थित पार्टी कार्यालयलाई जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)लाई हस्तान्तरण गरेको छ ।

जिल्लामा क्वारेन्टाइन र आएसोलेशनको अभाव भएपछि माओवादी केन्द्र हुम्लाले स्थिति सहज नभइन्जेलसम्मका लागि पार्टी कार्यालय डीसीसीएमसीलाई हस्तान्तरण गरेको हो ।

मंगलबार माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिजय भण्डारी ‘प्रतिरोध’ले पार्टी कार्यालयको भवन स्थिति सहज नभइन्जेलसम्मका लागि क्वारेन्टाइन र आइसोलेशनका लागि प्रयोग गर्न डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई पत्र–सहित हस्तान्तरण गरेका हुन् ।

जिल्ला इन्चार्ज भण्डारीले भने, ‘कोरोनाको दोस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणका लागि पार्टी कार्यालयमा भएका २ वटा हल, ३ वटा कोठा र ३ वटा शौचालय जिल्ला कोभिड संकट व्यवस्थापन समितिले आइसोलेशन बनाओस्, भन्ने हेतुले हतान्तरण गरिएको हो ।’

कोरोना संक्रमण फैलन नदिन सबै राजनीतिक दलहरुको पनि उत्तिकै भूमिका हुने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन समिति हुम्लाले कोरोना रोकथाम र नियन्त्रणका लागि सुरु गरेको अभियानमा आफूहरुले हातेमालो मात्र गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अचार्यले कारोनाविरुद्ध नागरिक जागरण अभियान सञ्चालन भइरहेको अवस्थामा माओवादी केन्द्रले सुरु गरेको उक्त कार्य प्रशंसनीय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV