४ जेष्ठ २०७८, मंगलवार

मेरो देशको कुर्सीको गरिमा नबुझ्ने नेताज्यूहरू,
क्षितिजपारिको देशबाट अभिवादन !

खै कसरी कुन शब्दहरूले बयान गरूँ म, नेपाल आमा र नेपाली आमाका सन्तानहरु आज अकाल जीवनलीला त्यागिरहेछन् । अझै पनि खानु छ लाउनु छ बाँच्नु छ, मलाई बचाउ म बाँच्न चाहन्छु भन्दाभन्दै मृत्युवरण गरिरहेका छन्। कोरोनाको महामारीले यत्रतत्र भयावह अवस्था सृजना भइरहेको छ, जुन सीधा र सोझा र पहुँचविहीन जनता दिनकै सयौँको लास जलाउने ठाँउसम्म पाइएको छैन । तैपनि मेरो देशको नेता भनौदाहरु त्यही एउटा कुर्सीको लागि तँछाड मछाड गरिरहेका छन्।

नेताज्यू, कति प्यारो भएकाे है त्यही कुर्सीमात्र ? सबैलाई कुर्सी र पद नै चाहिने ! यदि मानवता भएको भए यो बेला गुट, फुट र सत्ताकाे खेल हैन, हस्पिटल, औषधि-उपचार, अक्सिजन नपाएर तड्पिरहेका जनताकाे चिन्ता गर्नुपर्थ्याे । औषधि-उपचार र अक्सिजनकाे व्यवस्था गर्नुपर्थ्याे ! रातो कार्पेट होइन नाङगो आङ ढाक्ने कपडाका लागि साेच्नुहाेस्र । करोडौँको गाडी होइन, ओत लाउन झुपडी बनाइदिनुहाेस् । भोकभोकै लडिरहेका छन्, एक छाक खाने व्यवस्था गरिदिनुहाेस् !

कति सुन्नु प्रधानमन्त्रीका ती जोक्सहरु ? पुर्वबाट पश्चिम रेल दौडाएर देखाउछु अरे ! नेपाललाई स्वीजरल्यान्ड बनाईदिन्छु अरे ! घरघरमा ग्यास पाइपलाइ जोडिदिन्छु अरे ! हो यस्तैयस्तै जोक्सहरु सुनाउँदा साँचै पो हो कि भनेर मख्ख पर्दै ताली बजाउँदै खुसीले गदगद भएका तिनै सोझा जनताहरु नै आज दिनमा सयौँको संख्यामा ज्यान गुमाउन बाध्य भएका छन् । यहाँ किन ध्यान पुग्दैन ? त्यही जनताले दिएको भोटबाट नै त हाे ठुलठुला पदमा पुगिएको, किन बिर्सिनुहुन्छ नेताज्यू ? जनताको रगत पसिनालाई किन भुल्नुभाे ? किन देखाउनुहुन्छ औकात ?

जनताकाे त्याग र बलिदान नभएको भए झोले नेता कसरी बन्थे, किन नसोचेको ? कतिको सिन्दुर पुछिएको छ, कति बालबालिका टुहुरा भएका छन्, कति भोकभौकै सडकमा लडिरहेका छन् ! ती पीडितहरुको दु:खको आँसुले देश तलाउ बनिसक्यो। बिरामीहरुको दर्दनाक पीडा देखेर डाक्टर, नर्स भन्छन्, “बिरामीको अक्सिजन सकिन लागेपछि मुटु कामेर आउछ !” सायद अक्सिजनको कमी नभएको भए बिरामीहरुलाई अस्ताउन दिने थिएनन् होला, डाक्टर-नर्सहरूले ।

लाज पचेका मेरो देशका नेताज्यूहरू, कम्तिमा अक्सिजनसम्म त पुर्याइदिनुस्, बिरामीसम्म । कुर्सीका लागि सडकमा जानेहरू, अहिले कहाँ गए ? बिरामीहरुलाई कम्तीमा सान्त्वना त दिनुस् ! उनीहरूकाे आँसु पुछ्नुस्, पीडामा मलमपट्टी लगाउनुस्, अर्काे चुनावमा भाेट त पाउनुहुन्छ । खै त यो कोरोनाको महामारीमा कुनै नेता, पार्टी, संगठन, संस्थाहरु बोलेको सुनिएन । खोलाको बगरमा भएको ढुङ्गा र बालुवाझैँ लासको डङ्गुर थुर्प्रिंदा पनि मौन छन् सरकारहरू, चुपचाप बसेका छन् नेता-सांसदहरू ।

‘सतीले सरापेको देश’ त्यत्तिकै भन्या हैन क्यारे !  बारम्बार लाग्छ-  हामीलाई साँच्चै अभिशप्त भएरै बाँच्नुपर्ने रहेछ । देश र जनताको सेवामा लाग्ने हो भने बलात्कारीलाई फाँसी, भ्रष्टाचारीलाइ जेल हाल्नुस् नेताज्यू । बेरोजगारलाई रोजगार, गरिबहरुलाई गाँस, बास, कपासकाे व्यवस्था होस् । पैसा, कमिसन, कुर्सीको पछि होईन न्याय र अन्याय छुट्याउन अनि जनता र देशकाे मुहार फेर्न अग्रसर हुनुस् । यति गर्न सके कति राम्रो देश, कति महान् नेता भनेर गर्वले हामी छाती फुलाउँथ्याैँ ।

(हाल जापान )

प्रतिक्रिया दिनुहोस्

LIVE TV