४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको पर्यटन क्षेत्र कोरोना महामारीका कारण प्रभावित बनेको छ । गत वर्षदेखि नै कोरोना महामारीका कारण सबै भन्दा बढी प्रभावित बनेको क्षेत्र पर्यटन उद्योग हो ।

गत वर्ष कारोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो । निषेधाज्ञा र लकडाउनको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्यटन उद्योगमा परेको छ । त्यस्तै, यो वर्ष पनि कोरोना महामारी रोकथा मतथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण पर्यटन क्षेत्रका साना, ठूला होटल, रेष्टुरा, रिसोर्ट तथा पार्टी प्यालेसहरु आंशिक तथा पूर्ण रुपमा बन्द छन् ।

हामीले यस पटक कोारेना भाइरसको मारमा परेका पर्यटन उद्योग ब्यवसायमा आबद्ध ब्यवसायीहरुको अनुभव तथा भनाइलाई समेट्ने प्रयास गरेका छौं ।

सरकारले खोप ल्याउन नसक्दा पर्यटन क्षेत्रमा नराम्रो सन्देश गयो

दिकी शेर्पा, निर्देशक, होटल मल्वेरी ठमेल

अहिले कोभिडको महामारीबाट पर्यटन ब्यवसाय निकै अप्ठ्यारोमा परेको छ । गत वर्ष पनि लकडाउनको कारण विदेशी पर्यटकहरु आउन सकेनन् । सरकारले लामो समय लकडाउन गरेपछि होटल, रेष्टुरा र पर्यटन उद्योग चल्न सकेन ।

यो वर्ष कोरोनाको दोस्रो भेरियन्टको कारण भर्खर चलायमान हुन लागेको पर्यटन क्षेत्र पुनः अवरुद्ध बनेको छ । सरकारले बेलैमा खोप ल्याउन सकेको भए अन्तर्राष्ट्रिय समुदायमा नेपालको राम्रो सन्देश जाने थियो ।

सरकारले खोप ल्याउन ढिलो गरेको कारण विदेशी पर्यटकहरुमा नेपालको बारेमा राम्रो सन्देश जान सकिरहेको छैन । हामी पर्यटन क्षेत्रमा आबद्ध सबै ब्यवसायी, होटलका कर्मचारीहरुले समयमै खोप लगाउन पाएको भए पर्यटन क्षेत्रमा आत्मबिश्वास बढ्ने थियो ।

विदेशीहरुले नेपाललाई सुरक्षित महशुस गर्न सक्थे । खोपको ढिलाई र विवादको कारणले गर्दा पनि विश्व बजारमा राम्रो कुरा जान सकेन । विदेशी पर्वतारोहीहरु नेपाल आउन खोजिरहेका छन तर, अहिले कोभिडको कारण उनीहरुले आफ्नो बुकिङ धमाधम रद्द गर्न थालेका छन् ।

सोही कारण पर्यटन क्षेत्रमा दीर्घकालीन असर परेको छ । सरकारले कोभिडको कारण समस्यामा परेका पर्यटन उद्योग ब्यवसायमा राहतको कार्यक्रम ल्याउन सके मात्र पर्यटन क्षेत्र पुनः चलायमान हुनसक्छ ।

सरकारले पर्यटन उद्योगलाई बिशेष राहतको कार्यक्रम ल्याउनु पर्छ

कुनसाङ सालु, निर्देशक, नोरलिङ रिर्सोट मुलपानी, काठमाडौं

कोभिडको दोस्रो लहरबाट पर्यटन तथा मनोरन्जन उद्योगहरु पुनः समस्यामा परेका छन् । गत वर्ष कोभिड र लकडाउनबाट बन्द भएका होटल, रिसोर्टहरु सञ्चालन हुदै थिए तर, अहिले कोभिडको दोस्रो लहरबाट फेरी समस्यामा परेका छन् ।

जनताको स्वास्थ्यमा संकट भएपछि सामाजिक, पारिवारिक तथा सांस्कृतिक कार्यक्रम, पार्टी, सेमिनारहरु बन्द भएका छन् । अहिले मनोरन्जन गर्ने समय पनि छैन । पर्यटन ब्यवसायीहरुले होटल रिर्सोट बन्द गर्नुपरेको छ ।

गतवर्ष पनि हामीले होटल रिर्सोटहरु चलाउन सकेनौं । यो वर्ष पनि गत वर्ष भन्दा बढी समस्या छ । जनस्वास्थ्यको समस्या जटिल भएपछि पर्यटन क्षेत्रका सबै कामहरु बन्द भएका छन् । कर्मचारीहरुलाई बिदा गर्नु परेको छ ।

मानिसहरुको जनस्वास्थ्यमा सुधार नभएसम्म पर्यटन उद्योगमा रहेका ब्यवसायहरुमा चलायमान हुन सक्ने स्थित छैन । अहिलेको अवस्था लामो समय सम्म रहँदा पर्यटन उद्योग ब्यवसाय लामो समय सम्म कठिन अवस्थामा पुग्ने स्थिति छ ।

बैंकको ब्याज बुझाउनु पर्ने हुन्छ । यो कठिन अवस्थामा सरकारले पर्यटन उद्योगलाई विशेष राहतको कार्यक्रम ल्याउन सक्नुपर्छ ।

कोभिडको कारण बैंकको ब्याज बुझाउन कठिन छ

अमन पोद्धार, प्रवन्ध निर्देशक, बालाजी होल्डीङस एण्ड होटल

भर्खर मात्र चलायमान हुन लागेको होटल, रेष्टुरा तथा पार्टी प्यालेसहरु पुनः बन्द भएका छन् । बैंकबाट कर्जा लिएर सुरु गरेको पर्यटन ब्यवसाय अहिले सञ्चालन गर्न निकै कठिन भएको छ । अहिले कोभिडको दोस्रो लहरमा सबै डराएका छन् ।

होटल, रिसोर्टमा परिवारिक जमघट गर्नसक्ने अवस्था पनि छैन । कुनै संस्थाहरुले कार्यक्रम गर्ने अवस्था भएन । विदेशी पर्यटक तथा आन्तरिक पर्यटक आउने अवस्था पनि छैन । यो अवस्थामा लामो समय जान सकिने देखिएकोले कर्मचारीहरुलाई पनि राख्न सकेका छैन ।

श्रमिक कर्मचारीहरु आ–आफनो घर फर्किएका छन् । कर्मचारी पनि राख्ने अवस्था छैन । हामीलाई बैकबाट लिएको कर्जाको ब्याज तिर्न कठिन भइरहेको छ । सरकारले कुनै पनि सहयोग गरेको छैन । हाल निर्माण भइरहेको होटलको पनि काम हुन सकेको छैन ।

नियमित रुपमा नोक्सानी भएकोले होटल ब्यवसाय चलाउनै नसक्ने स्थिति छ । सरकार र बैंकहरुले कुनै राहत तथा सहयोग नगर्ने हो भने पर्यटन ब्यवसायीहरुले बैंकको ब्याज बुझाउन सकिने स्थिती छैन । यो अवस्था लामो समयसम्म रहने देखिएकोले पर्यटन उद्योग ब्यवसाय निकै कठिन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV