२९ बैशाख २०७८, बुधबार

कसरी सक्छस् बहिराे बन्न चीत्कार सबैकाे सुन्दा पनि
तेरै कारण मृत शरीरकाे खातमा खात बन्दा पनि
साँच्चै चेत छैन कि तँलाइ कात्रोमा खल्ती हुँदैन भनेर
कि सोच्छस् ए भ्रष्टाचारी ! जाँदिनँ कहिल्यै आफू मरेर !

मानवकाे अपवाद तँ हैनस्, मर्न त अवश्य मर्छस्
के लिएर जान्छन् र कसले, बेकारमा कालो धन थुपार्छस्
देशमा कति हाेनहार योद्धा अभावै अभावमा लडिराछन्
चसक्क पनि छुन्न ह‌ै तँलाई, जाे तेरै कारण मरिराछन् !

कत्रो पापी दुस्साहस तेरो काेभिड भ्याक्सिनमा ठग्न खाेज्ने
पुरा गरिस् कि नाइँ कुन्नि ? सपना ठूलै गाँठ बाेक्ने
आफ्ना जस्तै हुन् सन्तान जनताका भन्ने फिटिक्कै लाग्दैन है
मान्छे नमर्ने शहर हुँदैन भन्ने मनमा जाग्दैन है !

कस्तो घिनलाग्दो हर्कत तेरा‌े सत्तामा जान कुर्सी तानातान
माैका हेर्ने दिनरात अनि भ्रष्टाचारमा चौका हानाहान
चरमचुलीमा तेरो अत्याचार जता हेर्यो उतैतिर
बिरामी मर्दा ट्याक्टरमा, हेलिकप्टरमा नेता उम्मेदवारी भनेर !

भाेकमाथि राेग थपिएर दिनरात मर्दै गर्दा जनता
उदेकलाग्दो छ हर्कत तेराे, भ्रष्टाचारमा व्यस्तता
आमाको पाउमा ठेस लाग्दा तेराे दिलमा घाउ लागेन
थुइक्क तँलाई ! एकरत्ति पनि मर्छु भन्ने लागेन ?

साँच्चै बुझ्दैनस् कि, बुझेर नि बुझ पचाउँछस् तैँले
ए भ्रष्टाचारी ! तेराे घैँटाेमा घाम लाग्छ कैले ?
धिक्कार छ तेरो यस्तो जन्म अनि कर्मलाई
आफ्नै आमाका सन्तान रुवाई, कुल्चिने तिनको मर्मलाई

खै ? के भनौं तँलाई, दानवरुपी हर्कत देखाइस्
कहिल्यै क्षम्य नहुने पाप गरी नर्कबासमै नाम लेखाइस्
आशा छ- तेरो जस्तै कुबुद्धि सन्ततिमा सर्दैन
अब त भन् न ए भ्रष्टाचारी ! तँलाई मर्नु पर्दैन ?

– देवदह, रुपन्देही

प्रतिक्रिया दिनुहोस्

LIVE TV