२९ बैशाख २०७८, बुधबार

काठमाडौं । कोरोना संक्रमितले बेड भरिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अस्तव्यस्त बनेको छ ।

झण्डै एक दर्जनको हारहारीमा कोरोना संक्रमितको अस्पताल पेटीको भुइँमा राखेर अक्सिजनसहित उपचार गराइँदैछ । यसको सोझो अर्थ हुन्छ कि अस्पतालभित्रका कुनै पनि बेड खाली छैनन् ।

आफ्ना कोरोना संक्रमित बिरामीलाई टेकु अस्पताल ल्याएर जसोतसो भुइँमै भए पनि भर्ना गर्न पाएकाेमा आफन्तहरुको भीड बाहिरी प्राङ्गणमा बाक्लै छ।

काठमाडौंका अन्य प्राइभेट अस्पतालहरुमा चहार्दा-चहार्दा भर्ना नलिएपछि टेकु अस्पतालले भर्ना लिएर गुन लाएकाे एक कोरोना संक्रमितका आफन्तले बताउनुभयो ।

अस्पतालमा अक्सिजनको अभाव नभए पनि बेडको अभाव भएको उहाँको भनाइ छ । सुरुमा आफ्नो बिरामीलाई इमरजेन्सीमा ल्याए पनि बेड अभावमा बाहिरै राखेर उपचार गरिएको उहाँको भनाइ छ । तर उहाँको बिरामीको स्वास्थ्य सुधार नआएपछि पछिल्लो समय भित्र वार्डमा लगेर उपचार गरिँदै गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला केएमसी हस्पिटलमा र अन्य हस्पिटलामा लग्यौँ । त्यहाँ भर्ना लिन मान्नुभएन । त्यसपछि हामीले राति १० बजे इमरजेन्सीमा ल्याएका हौँ । यहाँचाहिँ बाहिर राखेर भए पनि उपचार गर्नेगरी भर्ना लिनुभयो । पछि उहाँहरुले भित्र लानु भएको छ।’

उहाँले आफ्नो बिरामीका लागि डाक्टरले आइसीयू चाहिने बताइरहे पनि आफूहरुले धेरै ठाउँ खोजे पनि नपाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई आइसीयू चाहिएको छ भन्नुभएको छ । तर हामीले धेरै ठाउँ खोज्दा पनि पाइरहेका छैनौँ । कहाँनेर बुझ्ने, कता बुझ्ने भनेर मिडियातिर पनि खोजिरहेको छौँ । तर कतै फोनै उठेन । पर्सनल रुपमा चिनेका मान्छेहरुलाई पनि सम्पर्क गरिरहेका छौँ । तर पाइरहेका छैनौँ ।’

त्यस्तैगरी अर्का एक कोरोना संक्रमितले स्वयं आफू बेड नपाएर बाहिरी पेटीमै उपचार गराइरहनु भएकाे छ । बाहिरै राखेर पनि चिकित्सकहरुले राम्रै उपचार गरिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘डाक्टरहरुले गर्ने कुरा राम्रै गर्नु भइरहेको छ । धेरै मान्छे भएकोले समस्या परेको हामीले पनि बुझ्नु बुझ्नुपर्छ ।’

त्यस्तै अस्पतलका एक कर्मचारीले बाहिरै रहेर उपचार गराइरहेकाहरुलाई चाँडै व्यवस्थित ढंगले उपचारको व्यवस्था मिलाइने बताउनुभयो ।’

‘अवस्था अनुसार बिरामीको व्यवस्था हामी अब चाँडै गर्छौं । प्रथमिकताको आधारमा हामी सबैलाई व्यवस्थित गर्छौं । कोही यहाँबाट उपचार नपाएर नफर्कियोस् भन्ने हाम्रो चाहना छ,’ उहाँले भन्नुभयो ।

प्राइभेट अस्पतालसँग आक्रोश

उता अर्का कोरोना संक्रमितका आफन्त भने प्राइभेट अस्पतालसँग आक्रोश पोखे । कोटेश्वरबाट कोरोना पोजेटिभ बुवालाई टेकु ल्याउनुअघि नर्भिक र स्टार हस्पिटलमा लगेकाेमा रकम धेरै असुलेको तर उपचार राम्रो नगरेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुमा नर्भिक लग्यौँ । एक दिन राख्दा ३० हजार खाइदियो । केही सुधार आएन । त्यसपछि फेरि स्टारमा लग्यौँ । त्यहाँ १४ दिन राखियो । ८ लाख पैसा सकियो । तर बिरामी बीसको उन्नाइस भएन । अहिले बुबालाई ल्याको ३ दिन भयो अहिले धेरै ठीक भएको छ ।’

उहाँले पनि बुबालाई सुरुमा बेड नपाएर बाहिर नै राखिए पनि अहिले भित्रै भर्ना गरिएको बताउनुभयो ।

सरकारले विकासको नाममा सडक बाटोघाटो योजना ल्याएको भन्दै दाबी गरे पनि जनतालाई जति गर्नु पर्ने हो त्यति नगरेको उहाँको गुनासाे छ । बरु स्वास्थ्य क्षेत्र व्यवस्थित नगरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको उहाँको आरोप थियो ।

त्यस्तै अर्का ढाडको समस्या भएर अस्पताल भर्ना भएका दुई युवक अक्सिजनको सहारामा बाहिर पेटीमै पल्टिरहेका थिए । उहाँहरुले आफूहरु कोरोना संक्रमित नभए पनि भित्री बेड भरिएको देखेको बताउँदै एक बुढी आमा बेड अभावमा बिजोक देखेकाले उहाँको लागि बेड छोडेर बाहिरै बसेको बताउनुभयो ।

तीमध्ये एक युवाले भन्नुभयो, ‘मैले एकजना बुढी आमा देखेर चाहिँ ल बस्नुहोस् भनेर बेड छाडेर बाहिर बसेको हुँ ।’

यद्यपि दुवै जना एक ठाउँ बस्नेगरी बेड मिलाई दिन अस्पताललाई आग्रह गरेको र व्यवस्था चाँडै हुने उहाँहरुले आशा गर्नुभयो ।

अस्पतालकाे क्षमताभन्दा बढी बिरामी

अस्पतालका सरूवा राेग विशेषज्ञ शेरबहादुर पुनले पनि अस्पतालको क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको बताउनु हुन्छ । आएका संक्रमितहरुलाई आफूहरुले फिर्ता गर्न नमिल्ने भएकाले क्षमताभन्दा बढी संक्रमित राखेर उपचार गराउन अस्पताल बाध्य भएको उहाँको भनाइ छ ।

मानिसको जीवन बचाउनु अस्पतालको कर्तव्य भएकोले दिनरात नभनी चिकित्सकहरु खटिरहेको पनि उहाँले बताउनुभयो । अहिलेको अन्य अक्सिजन अभावको समस्या नआए पनि यस्तै स्थिति रहिरहे यसै भन्न नसकिने उहाँको भनाइ छ ।

‘हाम्रो अस्पतालको क्षमताभन्दा पनि बढी कोसिस गरेका छौँ । हामीमा स्पेस त छैन अब । तर पनि हामीले जो-जो आउनुहुन्छ, उहाँहरुलाई फर्काउन मिल्दैन किनभने हामीले जीवन बचाउनु छ,’ उहाँ भन्नुहुन्छ, ‘अहिले अक्सिजन नपाएर मानिसको ज्यान जाने अवस्था छ । त्यसैले हामीले सकेसम्म आफ्नो कर्तव्य ठानेर क्षमताभन्दा बढी कोसिस गरिरहेका हौँ । अहिले यहाँ अक्सिजनको अभाव भने छैन । तर यस्तरी नै चाप बढिरहेमा समस्या आउन सक्छ ।’

तस्बीर : महेश्वर के.सी. न्यूज२४

प्रतिक्रिया दिनुहोस्

LIVE TV