२७ बैशाख २०७८, सोमबार

काठमाडाैँ । अमेरिकाकाे मेरिल्याण्डमा  एक बन्दूकधारीले अन्धाधुन्द गोली चलाउँदा एक नेपालीकाे समेत मृत्यु भएकाे छ । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा शनिबार उक्त घटना भएकाे थियाे ।  साे गाेलीकाण्डमा परी  एक जना नेपालीसहित चार जनाको मृत्यु भएकाे जनाइएकाे छ ।

बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार ज्यान गुमाउने ४ मध्ये ३ जनाकाे पहिचान खुलेकाे छ भने एककाे खुल्न बाँकी छ । उनका अनुसार ज्यान गुमाउनेमा संखुवासभाका सागर घिमिरे रहेका छन् भने अन्य २ जना स्पेनी नागरिक रहेका छन् । घटनामा अर्का एक नेपालीसहित केही व्यक्ति घाइते भएका छन् ।

घटनाको १० मिनेटमै प्रहरी घटनास्थल पुगेकाे र अन्धाधुन्द गोली प्रहार गर्ने एभर्टन नामक व्यक्तिकाे घटनास्थलमा नै प्रहरीकाे गाेली लागेर मृत्यु भएकाे जनाइएकाे छ ।

घिमिरे अध्ययनका लागि अमेरिकामा बस्दै आएका थिए । हालै मात्र उनले अमेरिकाकै साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर बाल्टिमोर आएका थिए । केही समय त्यही काम गरेर नेपाल फर्किने उनकाे याेजना रहेकाे उनीसँगै गाेली लागेर घाइते भएका सर्लाहीका  श्याम अधिकारीले जानकारी दिए ।

हमलाकारीले सुरूमा उनीहरू बसिरहेकाे घरमा घरमा आगो लगाएकाे र घरभित्र रहेका मानिसहरू भाग्ने क्रममा अन्धाधुन्ध गाेली चलाएकाे प्रहरीकाे भनाइ छ । साेही क्रममा घिमिरेलाइ पनि गाेली लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV