२६ बैशाख २०७८, आईतवार

कति सपना बोकेर उड्नेहरु

कति समय, परिस्थिति अनि भाग्यले डोहोर्याएर भौतारिनेहरु

युरोप एउटा सपनाको संसार

गाउँघरबाट सपनाको ढाकर बोकेर उडेकाहरु

धेरैको अडिने ठाउँ, बिसाउने ठाउँ- पोर्तुगल…

यस आलेखमा देश छोडेर परदेशिएका नेपालीहरुले आफूसँगै बोकी ल्याएका अलिकति तिता, अलिकति रमाइला लाग्ने विषयबारे चर्चा गर्न खाेजिएकाे छ । खासगरी सामाजिक सञ्जाल हुँदै समाचारहरुमा पनि हट केक विषय बनाउने गरेका पोर्तुगलका अपार्टमेन्ट  भाडामा लिएर रुम सेयरिङ्गमा भाडामा लगाउने नेपाली ‘नव घरबेटी’ र उनीहरुकैमा डेरामा बस्ने अनि उनीहरुकै उछित्ताे  काढेर नअघाउने/नथाक्ने सामाजिक सञ्जालमा रोइलो मच्चाउने ‘पाहुना डेरावाला’हरुका विषय बहस उठाउने दुष्प्रयास गरेकाे छु ।

पृष्ठभूमि

पोर्तुगलमा नेपाली आप्रवासीहरूको आगमन सन् ९० को दशकबाट शुरु भएको देखिन्छ । सन् १९९६मा पोर्तुगलको नागरिकता पाएका कुमार श्रेष्ठ पोर्तुगलको नागरिकता पाउने पहिलाे नेपाली हुन् । “आप्रवासीहरुका कथा” भन्ने शीर्षकमा गरिएको अनुसन्धानको क्रममा श्रेष्ठसँग कुराग्राफी गरेको थिएँ । श्रेष्ठका अनुसार ९० को दशकसम्म नेपालीहरु एराइभल भिसामा जर्मनी आएर काम गर्न पाउने रहेछन् । तर सन् १९९२/९३ तिर जर्मन सरकारले भिसा र वर्क प्रमिट नभएका नेपालीहरुलाई इलिगल भनेर नेपाल डिर्पोट गर्न थालेपछि जो जससँग कागज छैन, तिनीहरू कि त नेपाल जाने कि त अरु गन्तव्य खोज्न थाले । यसै क्रममा उनी पोर्तुगल आइपुगेका रहेछन् । १९९६ को क्रिसमसलाई सम्झँदै उनी भन्छन्, ‘हामी लिस्बोनमा १३ जना नेपाली भेला भएर मनाएका थियौँ ।’

नेपाल सरकारको वैदेशिक रोजगार विभागको वेबसाइटमा पोर्तुगललाई वैदेशिक रोजगारीका लागि स्वीकृति प्राप्त देशहरुको सूचीमा सूचीकृत गरेको देखिन्छ । नेपाल माइग्रेशन रिपोर्ट २०२०मा उल्लेख भएअनुसार आधिकारिक रुपमा ९ वटा एजेन्सीहरुले नेपालबाट पोर्तुगल म्यानपावर सप्लाई गर्ने गरेका रहेछन् । यस बाहेक यूरोपियन यूनियनका विभिन्न देशहरु  विविध भिसाहरुमा आएका नेपालीहरु लगायत केही अवैधानिक रुपमा पनि नेपालीहरु पोर्तुगल आइपुग्ने गरेका छन् ।

सन् २०१० तिरबाट पोर्तुगलमा नेपाली आप्रबासीहरुको संख्या बाक्लो बढेको पाइन्छ । इरासमुसका विद्यार्थी मनिका बज्रचार्य (२०१५) का अनुसार सन् २०००सम्ममा पोर्तुगलमा रेसिडेन्स प्रमिट पाउने २ जना नेपालीहरु थिए । सन् २०१५ सम्ममा ४ हजार ७८९ नेपालीहरुले रेसिडेन्स पाएका रहेछन् । पोर्तुगलको आप्रवासी मामिला हेर्ने सर्भिसो दे इष्ट्रेन्जरियो ए फ्रण्तेइरास (सेफ)को तथ्याङ्ग अनुसार सन् २०१९सम्ममा १६ हजार ८४९ नेपालीले पोर्तुगलको रेसिडेन्स प्रमिट लिइसकेको देखाउछ । पोर्तुगलको इडिकेटरर्स अफ इन्टिग्रेसन अफ इमिग्रान्टस  एनुअल स्टाटिस्टिकल रिपोर्ट २०१९ का अनुसार सन् २०१८ मा पोर्तुगलमा नेपाली आप्रबासीको संख्या १४१.२ प्रतिशतले बढेको रहेछ । रेसिडेन्स प्रमिट लिइएकाहरुको मात्रै आधिकारिक तथ्याङ्ग सेफबाट पाइने भएकोले हाल पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुको संख्या ३० हजारभन्दा बढी भएको अनुमान सामाजिक अभियान्ताहरुको रहेको पाइन्छ । पोर्तुगलमा हाल भैरहेको जनगणनाको रिपोर्ट प्रकाशित भएपछि भने पोर्तुगलमा बसोबास गर्ने नेपालीहरको आधिकारिक तथ्याङ्ग आशा गर्न सकिन्छ ।

घरभाडा

पोर्तुगलमा आप्रवासीहरु जो एक्लै आएर पोर्तुगलको आप्रवासी नियमनको प्रक्रियामा हुन्छन् । उहिहरुका शुरुवाती चरणमा कामकाजको चाँजोपाँजो नहुने हुनाले खर्चमा मितव्ययिता अपनाउनु पर्ने हुन्छ । खासगरी एसियन आप्रवासीहरुलाई भाषाको समस्याले जटिल बनाउने गरेको छ । अन्य पोर्तुगाली औपनिवेशिक मुलुकहरुबाट आउने आप्रवासीहरुको भाषाको पहुँचले उनीहरु पोर्तुगाली श्रम बजारमा छिटो पहुँच राख्न सक्छन् ।

नेपालीहरुले साधारणतया व्यक्तिगत सम्पर्कको आधारमा पोर्तुगिज निजी घरधनीहरुसँग फ्ल्याट भाडामा लिने गरेको पाइन्छ । अधिकांश नेपालीहरुले घर भाडामा लिनुपर्ने मुख्य कारण भनेको फेमिली रियूनियन इन्भाइटेसन गर्नका लागि सेफले घरभाडाको सम्भौता पत्र खोज्ने भएकोले फ्ल्याट घरभाडामा लिएका रहेछन् । कोभिड १९ को महामारीभन्दा अगाडि लिस्बोनमा घरभाडामा पाउन मुस्किल थियो । कतिले त घर खोज्ने दलाल पनि लगाएका रहेछन् ।

प्रायः पोर्तुगिज घरधनीले घरभाडामा बस्नेसँग ३ महिनाको अग्रिम बचत लिने गरेका रहेछन् । महिना शुरु हुने पहिलो दिनदेखि पहिलो सातासम्ममा अग्रिम भाडा बुझाउनु पर्ने, घर भाडामा लिने व्यक्तिसँग पोर्तुगलको रेसिडेन्स प्रमिट हुनुपर्ने र कम्तिमा २ जना पोर्तुगिज रेसिडेन्स कार्ड भएका व्यक्तिहरु साक्षी राख्नु पर्ने तथा वार्षिक भाडा वृद्धिदर कायम गरी, मर्मत-सम्भार भाडावालाले बेहोर्ने सर्तहरु सहित साधारणतया एकवर्षे, तीन वर्षे र पाँच वर्षे घरभाडा सम्झाैता पत्र बनाएर दिने रहेछन् । साधारणतया लिस्बोनमा फ्ल्याटको भाडा टि जिरोको  ३५० देखि टि फोरको १२०० सम्म पर्ने रहेछ ।

बिजुली, पानी र अन्य उपयोगजन्य पूर्वाधारहरु डेरावालाले घरभाडाको  सम्झौता-पत्र लिएर सम्बन्धित कार्यालयमा गएर निवेदन गरी सेवा लिनुपर्ने रहेछ ।

डेरावाला घरधनीका दुःख

पोर्तुगलमा नेपाली डेरावाला घरधनीहरुको ज्यादती सामाजिक सञ्जाल हुँदै अनलाइन समाचारहरुतिर पनि ‘हट केक’ बन्न थालेपछि पोर्तुगलमा फ्ल्याट भाडामा लिएर बस्ने र आफू बसेर बाँकी खाली कोठाहरु सेयरिङ्ग गर्दै भाडामा लगाउने केही ‘डेरावाला घरबेटी’हरुसँग कुराग्राफी गरेको थिएँ ।

तपाइँ डेरावाला कि घरबेटी ? भन्ने प्रश्नमा विगत १० वर्षदेखि लिस्बोनको मार्टिम मुनिजमा फ्ल्याट भाडामा लिएर बसेका मनबहादुर (नाम परिवर्तन) भन्छन्- “त्यो बेला घर पाउनु एकदमै गाह्रो थियो । पाए पनि कामको टुङ्गो नभएकोले भाडा तिर्नु गाह्रो थियो । त्यो बेला नेपालीहरु थोरै थिए । अहिले जस्तो सेयरिङ्गमा बस्ने मान्छे पाउनु पनि गाह्रै थियो । करिब २ वर्षसम्म फ्ल्याटको भाडा एक्लै तिरें । २०१२ तिर आउने नेपाली साथीभाइहरुलाई बस्न दिएँ । कुनै बेला त ६, ७ जना पनि एउटै रुममा खाँदिएर बसियो । कतिको काम थिएन । ल्याएको खर्च पनि सकिहाल्यो । साथीभाइले पछि सम्झिन्छन् भनेको कामकाज पाएर आफू सेटेल भएपछि कतिले त अचेल चिन्नै छोडे ।”

कतिपयलाई भने बाध्यताले पनि फ्ल्याट भाडामा लिनु परेको रहेछ । विगत ६ वर्षदेखि स्थाफानियामा फ्ल्याट भाडामा लिएका दिलमाया (नाम परिवर्तन) भन्छिन्- “म पहिले अरुकोमा बस्थेँ । पहिले म बसेको फ्ल्याट भाडाधनी भने अलि कर्कश थिए । एकदमै सानो चित्तको । एक चम्चा नुनको पनि हिसाब राख्ने । पछि यो घरमा भाडामा मै बस्न आएँ । त्यो बेलाका यो फ्ल्याट भाडामा लिने मान्छे बाहिर बस्ने भएकोले घरको रेखदेख हरहिसाब सबै मलाई नै जिम्मेवारी दिए । पोतुगिज घरधनीले यो घर भाडामा लिने फलानो खै ? मैले उस्लाई भाडामा दिएको हो । तिमीहरु यो घरबाट निक्लेर गैहाल भनेर जा कि जा भन्न थाल्यो । भाषा पनि नबुझ्ने खै के के भन्यो, भन्यो । कराएको करायै गर्यो । अनि अर्को दिन आएर तेरो नाममा घर कन्ट्याक बनाउछस् कि छाडेर जान्छस् ? भन्यो । छाडेर कहाँ जानु । अनि मेरो नाममा घर भाडा कन्ट्य्राक्ट बनाएर ल्याइदियो । पछि पुरानो नेपाली आएर मेरो घर हडप्यो भनेर निहुँ पनि खोज्यो । घर भाडामा त लिइयो, सेयरिङ्गमा बस्ने मान्छे नपाइने । बस्न आउनेहरु पनि काम छैन भन्दै अर्को अर्काे महिना भन्दै कतिले त म काममा गएको बेला नतिरी भागेर गए । आजकल बाहिरतिर तर्केर हिँड्छन् । जम्काभेट भयो भने अकमक्किन्छन् । बाटो बाटो जतासुकै उधारो भाडा ले कि ले भन्नु पनि सक्दिनँ । बुझेर तिर्छन् भनेको कहाँको तिर्नु र !”

घर भाडामा खोज्नुको पीडा

रमेश (नाम पनिवर्तन) विगत ३ वर्षदेखि अलमेदामा फ्ल्याट भाडामा लिएर बाँकी स्पेस भाडामा लगाएका रहेछन् । अलि कडक स्वभावका उनी भन्छन्- “त्यो बेला घरभाडामा पाउनु साह्रै गाह्रो थियो । फेमिली एप्लाई गर्नका लागि घर कन्ट्रयाक्ट चाहिन्छ भन्यो । घर खोज्ने दलाललाई १०० यूरो दिएर खोजेको । आफूलाई चाहिएर आफैँले आँटेर घर भाडामा लिएको हो । आफ्नो घर भएपछि साथीभाइहरु आउँछन्, बस्ने ठाउँ छैन भन्छन्, बस्न दियो । कोही केही दिन मात्र बस्छन् । एक-दुई  दिन बस्नेलाई पाहुना नै मानियो । कोही त महिनौँ बस्न थालेपछि लौ भाडा पनि सहयोग गर भनियो । खाली भएको रुममा लौ न त कसैलाई सहज हुन्छ भनेर भाडामा दिएको । खासगरी नयाँ आएका र सिङ्गललाई यस्तो रुममा बस्नुको विकल्प छैन । नत्र यहाँको एउटाको तलबले आफैँ घर भाडामा लिएर एक्लै बस्नु सम्भव नै छैन । एउटै घरमा बस्दा तिताेमिठाे त भइहाल्छ नि । अप्ठ्यारो साह्रो-गाह्रोमा बास दिएको, हामीले खाली स्पेश भाडामा दिएर आफ्नो गुजारा चलाएको गुन बिर्सेर फेसबुक र सामाजिक मिडियामा घरबेटी र सेटी नानाभाँती भन्दै उफ्रिन्छन् बैगुनीहरु । घरभाडामा लिएर भाडामा लगाउने सबै राम्रा छन् भन्दिनँ म । कतिपयको त्यही व्यापार पनि होला । तर यूरोप हो । मेरोमा बस्न आइज कि आइज भनेर कसैले कसैलाई करकाप गर्न मिल्दैन । मेरैमा बस कि बस, यहाँबाट कहीँ जान पाउँदैनस् भन्नु पनि मिल्दैन । जान्ने बुझ्ने, हिम्मत हुनेले राम्रो खोजेर बसे त भैगो नि । आफैँ घर लिएर बसे भै गो नि । घरवालाले त्यतिको पैसा लुटेको देख्नेले आफूले पनि त्यसरी नै पैसो कमाए नि भयो । आफूले घर भाडामा लिन नसक्ने । जे जस्तो भए पनि हुन्छ भनेर चेपिएर, घुस्रिएर, टाँसिएर बस्ने । रुम छाडिदेउ भन्दा पनि ओगोटेर बस्ने । अनि जस्को घरको बास उसैको रछ्यानको सत्यानास, लाज सरम पचेकाहरु । घरभाडामा खोज्न ३ महिनाको अग्रिम बचत राख्नु, जमानी बसिदिने मान्छे खोज्नु, के-केको बिल कहिले-कहिले आउँछ, छोड्नु परे के-के झन्झट छ । होस्टेलमा जस्तो दुइचार महिना बस्यो अनि बिरालोले गुँड सारे जस्तो सार्नेले घरबेटीको कुरा काट्नु भनेको कुमारी केटीले बच्चाको आमालाई सुत्केरी व्यथा सुनाएजस्तो मात्रै हो ।”

खाली घर र चण्डाल भाडावाला

इन्तिदेन्तमा ४ वर्ष देखि घर भाडामा लिएर बसेका माया (नाम परिवर्तन) भन्छिन्- “आफूलाई चाहिएर भाडामा लिएको । घर पाउनु कम्ति मुस्किल थियो । २ वर्ष खोजेर बल्ल पाएको । भाडा धेरै हुन्छ । पोर्तुगलको कमाइ त्यही हो । बाँकी भएका रुमहरु भाडा सेयरिङ्ग गर्न पाए हुन्थ्यो भन्ने हुन्छ । जे भए पनि आफू बसेको ठाउँ हो । सबैले आफ्नो घर सम्झेर सरसफाइ गरौँ । होहल्ला नगरौँ भन्छु । भाडामा बसेपछि भाडा तिरेको छु भनेर होटेलमा जस्तो सुविधा खोज्छन् । सरसफाइ कहिले गर्दैनन् । घरका सामानहरु बिग्रियो, भाँचियो भने चलाउने त सबैले हो नि । सफाइ, मर्मत-सम्मतको जिम्मा चाहिँ फ्ल्याट भाडामा लिनेको मात्रै जस्तो गर्छन् । लु त्यो पनि ठिकै छ । अभरै पर्यो भनेर दुःख देखाउनेलाई आफूसँगै कोचिएर पनि बसियो । आफ्नो मान्छे आउँदा पनि भाडा तिरेर बस्नेहरुलाई डिस्टर्ब नगरी आफैँ साँघुरो गरेर बसेँ । अनि लु मेरा आफन्त आए, तपाइँहरु कोठा खोजिदिनु भनेर २ महिनाको समय दिएर कोठा खोज्नु लगाएको, आठ-दश महिनासम्म अटेर गरी बसे ।  जा कि जा भन्नु पनि कसरी, अनि अर्को महिना सर्ने भनेपछि १५ दिन अगाडि एउटा भाडामा बस्नेको कोठामा मेरो मान्छे एक्जस्ट गराएको त भाडा तिर्ने बेला त भाडा मिलाउने होला नि पो भन्छ । हैन के को भनेको, मसँग तपाइँको मान्छे बसेपछि म किन पुरै तिर्नु अरे ? त्यसपछि म पनि नानाभाती भन्दै कराएँ । शुरुशुरुमा दुःख हुँदा, काम नहुँदा चिप्लो घसेर बस्न देउदेउ भन्छन् । कोही कमाए पछि दिन्छु भन्दै इँच्च गर्छन् । एकछिन करायो के गर्नु, पैसो जस्तो कुरो हगेहग मुतेमुत भनेर पनि कहाँबाट ल्याओस् विचरा भनेर आफैँ यता र उता कागज बनाउन सघायो, काम खोजिदियो, अनि काममा जाने खर्च दिइपठायो । पैसा त तिरेन तिरेन, उल्टै कुरा काट्दै हिँडछन् बेज्जतीहरु ।”

पाहुना डेरावाला

अब पोर्तुगलमा फ्याल्ट भाडामा लिने नेपालीहरुका खाली रुम भाडामा लिने नेपालीहरुको कुरा पनि त सुनौं । जो सामाजिक सञ्जालहरुमा आफै बसेको घरबेटीको खाेइराे खनेर आफ्नो हिरोगिरी देखाउँछन् ।

डेरा गरी बस्ने अनि आफैँ बसेको घरबेटीको उछित्ताे खन्ने यो कस्तो संस्कार हो ? के तपाइँहरुलाई नेपाली घरबेटीले करकाप, बन्देज, छेकथुन गरेर जबर्जस्ती उनीहरुको फ्ल्याटमा भाडामा राखेर शोषण गर्छन् हो ? यी प्रश्नमा ग्रासामा नेपाली घरबेटीकोमा रुम सेयर गरेर बस्ने मालती (नाम परिवर्तन) भन्छिन्- “हैन, त्यस्तो त कहाँ गर्न पाउनु नि युरोपमा ? तर घरबेटी भाडावालभन्दा पनि मान्छे राम्रो-नराम्रो होला । म भने विगत २ वर्षदेखि एउटै घरमा बसिरहेको छु । माल्टाबाट आएपछि करिब एक महिनाजति होस्टेल बसेँ अनि यहाँ रुम पाइयो । घरवाला दाइ-भाउजुसँग एउटै परिवार भएर बसेका छौँ । रिस उठे बाझे पनि एकछिनमा मिलिहाल्छौँ ।”

पवन (नाम परिवर्तन)ले पनि मस्काभिडमा २ महिना अगाडि रुम लिएका रहेछन् । उनी पहिले गाउँले दाइ भाउजुसँग मार्टिमुनिज बस्ने रहेछन् । दाइभाउजू यूके गएपछि उनी कामको पायक पर्ने रुम भाडामा लिएका रहेछन् । उनी भन्छन्- “अब पहिले आफ्नै घरजस्तो थियो । त्यस्तो त कहाँ हुन्छ, नयाँ मान्छेसँग । त्यो पनि एक्लो मान्छे काममा गयो आयो, पकायो खायो यस्तै हो । कहिलेकाहीँ कामबाट आउँदा ढिलो हुन्छ । अरुलाई डिस्टर्व हुन्छ जस्तो लाग्छ । अनि अलिअलि केही खायो, सुत्यो । खासै त्यस्तो किचकिच र कराउने त छैन तर सकेसम्म अरुको गाली सुन्नु नपरोस् भन्ने लाग्छ । खै अब आफूले हेरेर दाम दर सहमतिले बसेको के शोषण गर्यो भन्नु र ? पैसा तिरेर बस्ने हो । भनेको जस्तो भएन । मनमुटाव भयो भने अर्को रुम खोज्ने नि । यही बस्नुपर्छ भन्ने छैन । उनलाई पनि मेरो कारण केही अप्ठ्यारो भयो भने जाउ भन्न पाए । केही असमझदारी भयो भने सम्बन्धित मान्छेसँग कुरा गरेर समाधान गर्ने नि, सामाजिक सञ्जालमा भुकेर के पाउनु ?”

यसैगरी रामो (नाम परिवर्तन) पनि अलकान्त्रामा करिव ४ महिना बसेर खेतीमा फर्किने तयारीमा रहेछन् । उनले सुनाए- “म खेतीमा काम गर्छु । अहिले अफसिजन भएकोले फुन्दो (बेरोजगारी भत्ता) दिएको छ । अनि यता आएर बसेको अब अर्को हप्ताबाट खेतीको काम सुरु हुन्छ अनि यताको रुम छोडेर उता जाने । होस्टेल बस्नुभन्दा सस्तो र सहज हुन्छ । होस्टेलमा सेयरिङ्गमा बस्दा पनि रातको न्यूनतम् १५ यूरो लिन्छन् । त्यही माथि सेयरिङ्गमा बस्न आउने मान्छे पनि चेन्ज भैरहन्छन् । रुम लियो, आनन्द । लामो समय बस्ने भए पो घर भाडामा खोज्नु । अफसिजनमा केही महिनाको लागि एउटा रुम लियो, भैहाल्छ । खै, मलाई त यतै ठिक लागेर बसेको । मन नपरे त छाेड्ने, अर्को खोज्ने नि । नेपाली मान्छेहरु नेपालीको भनेपछि अलि हेप्छन् । अनि कुरा बनाउँछन् । यहाँ पोर्तुगिजकोमा अरु विदेशीसँग बसोस् त स्वास पनि फेर्दै, जे भने पनि सिं.. सिं.. ओके.. ओके.. गर्छन् । घरबेटी न भाडावाला यिनका फुर्ति नेपालीको अगाडि मात्रै हो ।”

अन्त्यमा,

विगतको दशकदेखि पोर्तुगलमा नेपाली आप्रवासीहरुको संख्यामा चरम वृद्धि भएको तथ्याङ्कहरुसँगै नेपाली समुदायका सामाजिक विकृतिहरुमा पनि उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय खासगरी धोकाधडी, बेइमानी, चाप्लुसी, अनियमिता जस्ता समाचारहरुको व्यापक वृद्धि भएको पाइन्छ ।

धेरै नेपालीको युरोप सपनाको बिसौनी पोर्तुगल, जहाँ नेपाली आप्रवासीहरुलाई सामाजिक समावेशिता र अन्तरघुलनमा पोर्तुगिज भाषा मुख्य बाधक बन्ने गर्छ । यसर्थ पोर्तुगल आइपुग्ने नयाँ नेपालीहरु, पोर्तुगिज आप्रवासी नियमनका लागि आवेदन गरिबसेका लगायत पोर्तुगिज रेसिडेन्सी र काम भएकादेखि परिवारै भएकाहरुले पनि यहाँको थोरै तलबले व्यवस्थापन गरेर रुम सेयरिङ्गमा बस्नुपर्ने बाध्यता छ । आफैँ बसेको घरमा आगो लगाएर ताप्नु अथवा आफैँसँग एकाघरमा बस्नेलाई नै लुटिखानु के नैतिकता होला ?

पोर्तुगल स्वतन्त्रताको सम्मान गर्ने युरोपेली देश हो । कोही कसैलाई करकापमा, छेकबन्देज गरेर, जबरजस्ती भाडामा राख्न या बस्न पाइँदैन । सहमतिले दररेट र सर्त मन्जुरीले भाडा लिने-दिनेबिच एकाघरमा सानोतिनो मनमुटाव, खटपट हुनु सामान्य हो । केही समस्याहरु भए सम्बन्धित व्यक्तिहरु (पिडित र पिडक)ले सम्बन्धित निकायमा समाधान खोज्नु बेस होला । कोही कसैको व्यक्तिगत कुण्ठा, आक्रोशलाई यावत शीर्षकहरु जोडेर घरबेटी र भाडावाला विशेषणात्मक यो वा त्यो समास बनाई चरित्र राक्षसीकरण गर्ने दुष्प्रयास नगरौँ । यसले सामाजिक प्रदूषण फैलाउँछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV