२१ बैशाख २०७८, मंगलवार
  • सुरेश भट्ट,

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्र, ऐठपुर र खैरानी चोकलगायतमा अनुगमन गरिएको छ । निषेधाज्ञाको समयमा ब्यवसायीले सेवाग्राहीलाई ठग्ने तथा कालोबजारी गर्ने भएकाले अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख राम कुमार महतोको आदेशमा साहयक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको नेतृत्वमा मंगलबार अनुगमन गरिएको हो ।

त्यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरका प्रमुख अमर कुमार माझी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशी, घरेलु कार्यालय कञ्चनपुरका अधिकृत कृष्ण देव जोशी र भीमदत्त नगरपालिका कार्यालय कञ्चनपुरका अधिकृत सुवास अधिकारी तथा समुदायिक प्रहरी सेवा केन्द्रका बिमलखडायतको उपस्थितिमा संयुक्त अनुगमनमा गरिएको हो ।

जिल्लामा निषेधाज्ञाको समयमा कालोबजारी हुने सम्भावना बढी हुने, आम नागरिकले यस्तो परिस्थितिमा बढी पैसा तिर्न नपरोस् र दुःख नपाउन् भन्ने उदेश्य लिएर अनुगमन गरिएको साहयक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए ।

पहिलो दिनको अनुगमनमा पसलमा मूल्य सूची नभएको, समाजिक दूरी कायम नगरिएको, र केही पसल निषेधाज्ञाको समयमा पनि खुल्ला भएकाले आज सम्झाइ–बुझाइ गरिएको तथा अर्को अनुगमन सिधै कारबाही गरिने चेतावनीसमेत दिइएको साहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समय अवधिभर अनुगमनलाई निरन्तरता दिने भएको छ । कञ्चनपुरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले बैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय पनि गरेको छ ।

समितिको निर्णय अनुसार थप गरिएको निषेधाज्ञामा प्रशासनले बैंकका सबै शाखाहरू बन्द गर्ने र तरकारी एवं फलफूल सातामा ३ दिनमात्र बेच्न पाइने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV