१८ बैशाख २०७८, शनिबार

काठमाडौं । गायक छवि न्यौपानेको आवाजमा ‘कुल्ची हिँड्छन् फूललाई’ सार्वजनिक गरिएको छ । अमेरिकाको सिनसिनाटी ओहायोमा बसोबास गर्दै आएका गायक न्यौपानेको ‘कदर’ एल्बममा समावेश गरिएको ‘कुल्ची हिँड्छन् फूललाई’को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

उपयुक्त समयको पर्खाईमा रहेका गायक न्यौपानेले अहिले आएर एकपछि अर्को गुणस्तरीय गीतहरु बजारमा ल्याउन थालेका छन् । मेलिना राईसँगको ‘यो जुनीमा तिम्रो’ गीतले छोटो समयमा नै चर्चा कमाउन सफल भएको थियो ।

उक्त गीतको अपासर सफलतापछि गायक छविको आवाजमा सजिएको ‘कुल्ची हिँड्छन् फूललाई’ले पनि राम्रो प्रतिक्रिया बटुलिरहेको छ । जसमा मिठा–मिठा शब्द सिर्जना गर्न माहिर गीतकार तथा गजलकार खेम रिजालको शब्द, कुशल संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ ।

अभिनेता सुवास थापाको निर्देशनमा तयार पारिएको उक्त गीतको भिडियो अमेरिकामा नै छायांकन गरिएको हो । जसमा सुवास थापा, बिनीता खड्का थापा, सिइला, प्याट्रिक र कृष्टिनको अभिनय रहेको छ । भिडियोमा बिनिता खड्का थापाको कोरियोग्राफी रहेको छ ।

सार्वजनिक भिडियोमा आफ्नो परिवारलाई बेवास्ता गरेर क्षणिक माया जालमा पर्दाको दुरावस्थालाई प्रस्तुत गरिएको छ । जसलाई निर्देशक थापाले पछिल्ला दिनमा समाजमा देखिने विकराल परिस्थितिलाई जस्ताको त्यस्तै कथामा उनेका छन् ।

‘कोही मेरो’, ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेका निर्देशक थापा एक कुशल कलाकार पनि हुन् । पूर्व प्रेमी–प्रेमीकाको मिलन बिछोड तथा जीवनको उतारचढावको कथा प्रस्तुत गरिएको भिडियोलाई तोरी राइसले छायाँकन गरेका हुन् । अराज केशव गिरीको सम्पादन रहेको भिडियो एनपी म्यूजिक हबबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV