१२ बैशाख २०७८, आईतवार

लण्डन । कोरोना भाइरस संक्रमणबाट यो साता छिमेकी राष्ट्र भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको हो ।

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा कोरोना संक्रमणका कारण ३ सय ७२ जना नेपालीको मृत्यु भएको छ । हालसम्म मृत्यु भएकामध्ये दुई सय पैतालिस जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात् २ लाख ७७ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ जनाको निधन भएको छ ।

पछिल्लो एक वर्षमा सबैभन्दा बढी मे महिनामा ६८ जना, सेप्टेम्बरमा ६५ जना, अगष्टमा ३६ जना नेपालीको निधन भएको थियो । यो वर्ष सुरु भएपछि भने यही अप्रील महिनामा २३ जना नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

गतवर्षको जुन, जुलाई, डिसेम्बर र यो वर्षको जनवरी महिनामा सबैभन्दा धेरै नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका थिए । यसैबीच, गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा संन्जिव सापकोटाले महामारीका दौरान दुई सय पचास जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV