१२ बैशाख २०७८, आईतवार
बझाङ । प्रसिद्ध धार्मिक मेला बान्नीकी (बान्नीको) ‘चैतली मेला’ रोक्नका लागि मेला स्थलमा प्रहरी परिचालन गरिएको छ । स्थानीयले प्रशासनको निर्णयलाई उल्लंघन गर्ने सम्भावना रहेकाले मेला स्थलमा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ३ को बान्नी चौरमा उक्त मेला लग्ने गर्दछ । देशैभर कोरोना भाइरसको दोस्रो लहर फैलिएको र ग्रामीण बस्तीमा समेत फैलन सक्ने खतरालाई मध्यनजर गर्दै भीड नियन्त्रणका लागि मेला रोक्न लागिएको हो । यसका लागि प्रशासन पूर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । नेपाल सरकारले गरेको निर्णयलाई पालना गराउन आफुहरु तयार रहेको उहाँको भनाइ छ । मेला लाग्न नदिने बताउँदै उहाँले बान्नीकी चैतली मेला लाग्ने स्थानमा सशत्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको बताउनुभयो । सरकारले २५ जनाभन्दा बढी भेला हुन र भीडभाड गर्न नमिल्ने निर्देशन जारी गरेको छ । तर मेलामा पूजा–आरधाना गर्दा र लिङ्गो (काँकर) सेलाउनका लागि भने सयौँ जना आवश्यक पर्ने हुँदा भीड स्वाभाविक लाग्नसक्ने देखिन्छ । तर जिल्ला प्रशासन कार्यालयले भने बढी भीडभाड भएमा महामारी रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्ने बताएको छ । नयाँ वर्ष मनाउनका लागि र बान्निकी चैतलीमा पूजा–आराधना गर्नका लागि भन्दै भारतमा रोजगारीका लागि गएका अधिकांश स्थानीयबासी घर फर्किएका छन् । अहिले भारतमा धेरै कोरोना फैलिएको र भारतबाट नेपाल आएकाहरुबाट कोरोनाको जोखिम हुने भएकाले मेला लगाउन निषेध गरिएको हो । चैतली मेलामा बाहिरी जिल्लाबाट पनि दर्शालु भक्तजन उपस्थित हुने गर्दछन् । यसपालि बान्नीकी चैतली नमनाउन जिल्ला प्रशासन कार्यालयले ताकेता गरेपछि बाहिरी जिल्लाबाट आउने दर्शालु कम हुने आशा गरिएको छ । गत वर्ष पनि लकडाउनकै अवस्थामा मेला सम्पन्न भएको थियो । मेलालाई रोक्न प्रहरी प्रशासन तथा स्थानीय तहले प्रयास गरेको भए पनि गत वर्ष मेला रोक्न सकिएको थिएन । के हाे बान्नीकी चैतली ? सुदूर पश्चिमको प्रसिद्ध मेला मानिने बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरु भेला हुने गर्छन् ।  हजारौँले बान्नीको काँकर (लिंगो) र बान्नी मष्टा (कुलदेवता) को दर्शन गरेर मनाउने गर्छन् । परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भई महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला मनाउने गरिएको छ । मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गर्छन् । सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औंसीका दिन काटेको काँकर (लिंगो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झण्डै ४०–५० मिटर लामो काँकर (लिङ्गो)लाई मानिसहरुले बोकेर ३ सय मिटर जति हिँडाउने गरिन्छ । यसरी हिँडाएर ल्याएको काँकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुण्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छबिस र माथ्लो छबिसका बासिन्दाहरुबीच भकुण्डो खेल्ने प्रचलन रहेको छ । यसरी काकंर हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागि बझाङ जिल्लालगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु साविक कँडेल गाविसको बान्नी चौरमा पुग्ने गर्दछन् । राक्षसलाई मारिसकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औँलाको नगरा (गजा) बनाई विजय उत्सव मनाएको किंवदन्ती छ ।  
प्रतिक्रिया दिनुहोस्
LIVE TV