११ बैशाख २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित ऐतिहासिक धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको ६ वर्षपछि पुनर्निर्माण भएर शनिबार प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएकाे हाे ।

पुनर्निर्मित धरहराको उद्घाटनपछि लिफ्ट चढेर धरहराको २० औँ तल्लामा रहेकाे बार्दलीबाट प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्नुभएको छ । पुष्पवृष्टि गर्दै उहाँले २०औँ तल्लाबाट उपत्यका नियाल्नुभयाे ।

२०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा ढल्दा ६० जनाले ज्यान गुमाउनुपरेको थियो । साे भूकम्पमा भत्केकाे धरहरकाे ठुटाे संरक्षण गर्दै नजिकै नयाँ धरहरा बनाइएकाे हाे ।

यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट देखिनेगरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्, सजावट, भूकम्प सङ्ग्रहालय निर्माण लगायत काम बाँकी नै छन् । साथै लिफ्ट प्रविधि समेत राखिएकाेले यसकाे काम पनि सम्पन्न बाँकी छ, धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको र अर्काे जडानको क्रममा रहेको जनाइएकाे छ । धरहरा निर्माणको ठेक्का रमन कन्सट्रक्सनले पाएको थियो ।

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले आफ्नी प्रेमिकाका लागि भनेर धरहरा बनाइएको थियो । वि.स. १९९० सालमा आएको भूकम्पले ११ तले धरहरा ९ तल्लेमा सीमित भयो । पछि तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले ९ तल्लाबाट ११ तल्ले बनाए । र, २०७२ सालमा आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा पुनः २०७८ मा  २२ तल्ले बनाइएको छ ।

याे धरहरा पुरानाे भन्दा फरक किसिमले बनाइएकाे भए पनि बाहिरबाट हेर्दा पुरानैजस्ताे देखिन्छ । पहिलाकाे धरहराभित्र खालि सिँढी मात्र थिए भने अहिले भित्र संग्रहालय लगायत संरचना रहने बताइएकाे छ । यसमा माथि चढ्नका लागि सिँढीका साथै लिफ्ट प्रविधि छ, भित्र पुस्तकालय समेत रहनेछ ।

२०७२ फागुन ७ गते धरहराको पुनर्निर्माणको शिलान्यास पनि प्रधानमन्त्री ओलीले नै गर्नुभएको थियो । शिलान्यास भएको ६ वर्षपछि उहाँद्वारा नै धरहराको उद्घाटन गरिएको हाे ।

८३ दशमलब ८५ मिटरको उचाइ रहेको धरहराभित्र दुईटा लिफ्ट पनि रहेका छन् । सुरुमा नेपाल टेलिकमलाई धरहराको जिम्मा दिइएको थियो । तर, ०७४ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माण तथा व्यवस्थापनको जिम्मा पाएको थियो ।

धरहरा पुनर्निर्माण गर्न धरहरा कोष नै बनाइयो । देश विदेशमा रहेका नेपालीले धरहरा पुनर्निर्माणका लागि सहयोग गरेसँगै धरहराले फेरि नयाँ रुप लिन सफल भएको छ ।

३ अर्ब ४८ करोड लागतमा बनेको धरहरा पुनर्निर्माणमा चन्दा र सहयाेगबाट उठेकाेमा अपुग रकम नेपाल सरकारले व्यहोरेको छ । बाहिरबाट जमिनमाथि गन्दा तल्ला ११ तल्ले जस्ताे देखिने धरहराको जमिनमुनी दुई तल्ला रहेका छन् ।

तस्वीर : महेश्वर के.सी./न्यूज २४

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV