८ बैशाख २०७८, बुधबार

मुगु । हिमाली जिल्ला मुगुका नागरिक एक सातादेखि सञ्चारविहीन भएका छन् । कालिकोट र दैलेख जिल्लाको सिमानामा रहेको महाबु लेक स्थानमा रहेको रेडियो लिंक रिपिटर टावरका उपकरणहरुमा चट्यांङ्ग पर्दा इन्टरनेट सेवामा समस्या आएसँगै स्थानीयबासी सञ्चारविहिन बन्नुपरेको हो ।

इन्टरनेट सेवा नहुँदा कर्णालीका मुगु, हुम्ला, डोल्पा जिल्लामा सेवा प्रवाहमा समस्या आएको नेपाल टेलिकम जिल्ला शाखा मुगुले जनाएको छ । टेलिकम कार्यालयका अनुसार उक्त स्थानमा मर्मतका लागि प्राविधिम टोली त्यसतर्फ प्रस्थान गरेको छ । साथै, मर्मत कार्य जारी रहेकाले सकेसम्म आज बेलुकासम्म इन्टरनेट सेवा सञ्चालनमा आउने नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख विशाल देवकोटाले बताए ।

पछिल्लो समय कर्णालीका जिल्लाहरुमा वर्षा भईरहेको हुनाले वर्षाले इन्टरनेट सेवामा प्रभाव पारिहेको छ । वर्षा नभइदिएको भए इन्टरनेट सेवा छिट्टै सञ्चालनमा आउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।

वर्षाका कारण मर्मत कार्यमा खटिएका प्राविधिकहरुले पनि समस्या खेप्नुपरेको छ । कर्णालीका मुगुसहित अन्य जिल्लाहरुमा हालको मात्र समस्या नभएर हिउँदमा हिउँको समस्याका कारण कर्णालीबासीले इन्टरनेट र टेलिफोनको समस्या पटक पटक झेल्दै आउन बाध्य रहेका छन् ।

यसैगरी मुगुमा एडिएसल इन्टरनेटले काम नगर्दा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, बैँक, वित्तीय संस्थामा आर्थिक कारोवार गर्न र अन्य काम गर्न पनि समस्या आउने गरेको रेडपाण्डा कृषि सहकारी संस्था मुगुका अध्यक्ष तिलक बहादुर मल्लले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV