७ बैशाख २०७८, मंगलवार

ब्रसेल्स । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

विश्वभरका नेपाली भाषामा कलम चलाउने महिला साहित्यकारहरू सहभागी हुनसक्ने गरी भर्चुअल रूपमा ‘महिला जीवनमा आधारित’ विषयकमा कविताहरू वाचनका लागि आव्हान गरिएको थियो ।

सोही क्रममा छनौट समितिबाट छानिएका प्रतियोगीहरूले अप्रिल १८ आइतबार आ–आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रम संयोजक उर्मिला निर्दोषीले “सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाई र सिर्जनाका विषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताइन् ।

‘आमाहरू हरेक बच्चाको पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नै समाजका मेरूदन्ड हुन् । महिलाका सिर्जनाहरू समाजका दर्पण तथा सामाजिक पथ प्रदर्शक पनि हुन्’, भन्दै यस्ता प्रतियोगिताहरू समय–समयमा आयोजना गर्नुपर्ने बताइन् ।

उक्त कार्यक्रममा संसारभरबाट कवियत्रीहरूको सहभागिता रहेको थियो । स्रष्टाहरूले आ–आफ्नो सिर्जनामा “महिलाप्रतिको सामाजिक सोचमा परिवर्तन र समान लैंगिक समाजको स्थापना आजको अपरिहार्य आवश्यकता“माथि जोड दिएका थिए ।

समाजको पितृसतात्मक सोच र ज्यादती, महिलामाथि गरिने हिंसा, दूव्र्यवहार, कानून, प्रहरी प्रशासन, सरकार, व्यवस्थापन र परिवर्तन जस्ता विविध विषयमा गद्य र पद्य कविताहरू सुनाएका थिए ।

उक्त कार्यक्रममा विश्वका विभिन्न देशबाट साहित्यानुरागी कवि, कवियत्री तथा अनेसास केन्द्र र अनेसास बोर्ड अफ ट्रष्टिका व्यक्तित्वहरू र छनौट समितिका निर्णायकहरूको सहभागिता रहेको थियो ।

बोर्ड अफ ट्रष्टिकी अध्यक्ष गीता खत्रीको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश माइला पौडेलले शुभकामना सन्देश दिएका थिए । साथै उपाध्यक्षद्वय पुरू सुवेदी र पदम बिश्वकर्माले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अनेसास महिला समितिद्वारा आयोजित कविता प्रतियोगिताको निर्णय छनौट समितिले सुनाएको थियो । कार्यक्रममा कल्पना तामाङ (प्रथम ५०० डलर, अमेरिका), विन्दा पराजुली (द्वितीय ३०० डलर, जापान) र विष्णुमाया विभू (तृतीय, २०० डलर, नर्वे) पुरस्कृत भएका छन् ।

कार्यक्रमको सञ्चालन अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषीले गरेकी थिइन् भने समापन अनेसासका महासचीव सर्वज्ञ वाग्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV