२ बैशाख २०७८, बिहीबार
  • इन्दिरा चाम्लिङ

ब्रसेल्स । नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रवासमा बैदेशिक शाखाहरूले महासंघको शिर उँचो बनाउन अथक प्रयास गरेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाले नयाँ वर्षको अवसरमा आयोजना गरेको परिचयात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘महासंघको गरिमालाई उचाईमा राखिरहन मुल मुद्दा छाड्नु हुन्न । आचार संहिता र सबै प्रतिको उत्तरदायित्व भुल्नु हुन्न । प्रवासमा पत्रकारिता गर्नेहरूले मुलरूपमा कानूनी आक्रमणप्रति पनि सचेत हुनुपर्छ । विदेशमा बसेर नेपालको माया गर्दै पत्रकारितामा निरन्तरता दिनुभएकोमा खुशी व्यक्त गर्दछु ।’

अध्यक्ष पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै वैदेशिक शाखाहरुले नेपाली पत्रकारिताको विकास र समृद्धिमा उल्लेख्य योगदान दिएको उल्लेख गर्नुभयो । उहाँले फेरि भन्नुभयो, ‘सानातिना, तितामिठा कुराहरु त्यागेर मिलेर काम गर्नुहोस् । प्रवासी पत्रकारहरु एकढिक्का भई पत्रकारिता र पत्रकारको हक हितमा लाग्नुहोस् ।’

त्यस्तै, उहाँले विवाद, स्प्रिट, असन्तुष्टि, अस्तित्वलाई आत्मासाथ गर्दै जान सुझाब दिदै यूरोप शाखाको नयाँ कार्यसमितिलाई बधाई तथा नयाँ वर्षको शुभकामना दिनुभयो ।

उक्त कार्यक्रममा केन्द्रीय सचिव सृजना अर्याल, केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य भीषण राई र जापान शाखाका अध्यक्ष मोहन घलेलगायतले प्रवासमा पत्रकारिताको विकास र चुनौतीको व्याख्या गर्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा यूरोप शाखाका निवर्तमान अध्यक्ष केजिन राईलगायत यूरोपका पत्रकारहरुको उपस्थिति रहेको थियो । अनलाइन जूम प्रविधिमार्फत् भएको उक्त कार्यक्रमलाई महासचिव द्रोण रिजालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV