२६ चैत्र २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर । विराटनगरमा रात्रिकालीन विराट गोल्ड कप फुटबल प्रतियोगिता विहीबारदेखि शुरु भएको छ ।

गत वर्ष कोरोना महामारी र शहीद मैदानमा फ्लड लाइट जडान नभएको कारण रोकिएको विराट गोल्ड कप २०७८ साल बैशाख ४ गतेसम्म आयोजना हुनेछ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बीच विराट गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

सो फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने प्रदेश सरकारको आकांक्षामा खेलाडी र प्रायोजकहरुको साथ र सहयोग खोजेको धारणा व्यक्त गरे ।

नेपाल, भारत र क्यामरुनका १० वटा टिमहरु भाग लिइरहेको सो फुटबल प्रतियोगिताको विजेता टिमले १५ लाख १५ हजार रुपैया र उपविजेताले ७ लाख ५१ हजार रुपैया प्राप्त गर्नेछन् ।

उद्घाटन खेल आयोजक विराटनगर ११ र युनाइटेड सिक्किम फुटबल क्लबबीच आयोजना गरिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV