२६ चैत्र २०७७, बिहीबार

मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहीबार दिउँसो ११ बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा ४ जना प्रदेश सभा सदस्यहरुले बोलेपछि माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध गर्न खोजेका थिए । उनीहरूले बैठक अवरुद्ध गर्ने संकेत देखाएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक अर्को सुचना जारी नभएसम्मका लागि स्थगन भएकाे घाेषणा गरेका हुन् ।

बैठकको विशेष समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले सरकारले पुर्वाधार, आर्थिक प्राविधिक पारदर्शिताकाे विश्लेषण नै नगरी एकलौटी ढंगले विद्युतीय बस खरिद गर्न लागेको भन्दै सरकारले जनतालाई सदन मार्फत त्यसको विश्वश्नियताको पुष्टि गर्नुपर्ने बताए ।

यस्तै उनले सरकारले एकलौटी निर्णय गरेर मदन भण्डारी फाउन्डेशनलाई दिएको ५० लाख रुपैयाँको औचित्य समेत पुष्टि गर्न सरकारलाई खबरदारी गरेका छन् ।

यसैगरी विवेकशील साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेल ,नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँ र राप्रपाकी प्रदेश सभा सदस्य रीता माझीले कारोना भाइरसको दाेस्रो लहर सुरु भएपछि छिमेकी देश भारतमा संक्रमितको संङख्या बढेको र नेपालमा समेत जोखिम बढिरहँदा प्रदेश सरकारले स्वास्थ्य सतर्कतामा कुनै चासो नदिएको आरोप लागाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV